सहरभन्दा डाँडाकाँडामा रमाउँदै पर्यटक

शनिबार, १३ कार्तिक, २०७८
डिजिटल संस्करण

पोखरावरिपरिका उच्च भेगमा होटेल, रिसोर्ट, होमस्टेलगायतका पूर्वाधारको विकास हुँदै गएपछि आन्तरिक पर्यटक मुख्य सहरमा भन्दा केही टाढा रमाउन थालेका छन् 

पर्वतका दीपक शर्मा सार्वजनिक बिदाको दिन पारेर परिवारसहित मेथलाङ उक्लिए । शर्माले पोखरा मुख्य सहरबाट तीन किलोमिटरको दूरीमा रहेको उत्तर–पश्चिमतर्फको मेथलाङको टापु रेस्ट्रो एन्ड कटेजमा पुगेर पिङ खेले, हातजस्तो बनाइएको संरचनामा बसेर फोटो खिचाए । उनी मात्र होइन, अहिले पोखरा बजार र हिमाल एकसाथ देख्न र स्वच्छताको अनुभव गर्न दैनिक हजारौँ मानिस पोखराको मेथलाङ, काहुँ, सराङकोट, अनदु, पुम्दी र रूपाकोटलगायतका क्षेत्रमा पुग्ने गरेका छन् । 

अघिल्लो हप्ता नवलपुरबाट साथीहरूसहित पोखरा घुम्न आएका विशाल अर्याल बिहीबार अनदुको डाँडामा रहेको विश्व शान्ति स्तूप र त्यसभन्दा पर रहेको पुम्दीकोटको विशाल महादेव मन्दिरपरिसर पुगे । पुम्दीकोट पुगेर हेर्दाको आनन्द आफूले बिर्सन नसक्ने उनको अनुभव छ । त्यसवेला पानी परिरहेकाले अझ राम्रोसँग दृश्य देख्न नपाएकोमा थकथकाउँदै उनले आकाश खुलेका वेला कुनै दिन पुगेर अझै धित मरुन्जेल दृश्यावलोकन गरेर फर्कने योजना साँचिरहेका छन् । ‘पुम्दीकोट र विश्व शान्ति स्तूपबाट हेर्दा ताल र सहरको दृश्य लोभलाग्दो छ । त्यही भएर यतिका मान्छे यहाँ आउँदा रहेछन्,’ अर्याल भन्छन्, ‘पानी परेकाले र बादल लागेकाले यसपालि हिमाल देख्न पाइएन । अर्कोपटक आएर दिनभर यहाँबाट हिमाल, ताल र पोखर नियाल्दै रमाउने रहर छ ।’

पोखरा २२ पुम्दीका स्थानीय भवानी बरालका अनुसार अहिले दिनहुँ दुई हजारभन्दा धेरै मानिस पुम्दीकोटको विशाल महादेव मन्दिरको अवलोकन गर्न पुग्ने गरेका छन् । उक्त स्थानमा होटेल पूर्वाधार बन्ने क्रममा रहेकाले पर्यटकहरू नजिकको होमस्टेमा बस्ने गरेका छन् । स्थानीयस्तरमा उत्पादन भएका फलफूल र तरकारी आजकल आउने आन्तरिक पर्यटकले गाउँबाटै लैजाने गरेका छन् । ‘यहाँ कति मानिस आउँछन् भन्ने ठ्याक्कै रेकर्ड राख्ने गरिएको छैन । तर, बिदाका दिनमा तीन हजारभन्दा धेरै नै आउँछन् । अन्य दिन भने केही कम आउँछन्,’ उनी भन्छन्, ‘यसरी यो डाँडामा मानिसहरू आउलान् भन्ने हामीले सोचेकै थिएनौँ । अहिले यहाँ जे उत्पादन हुन्छ, त्यो सबै आउने मानिसहरूले नै कोसेलीका रूपमा हात–हातमै लैजाने गरेका छन् ।’ कोभिड–१९ को कहर मत्थर भएसँगै पोखराका डाँडाहरूमा आन्तरिक पर्यटकको ओइरो नै लाग्ने गरेको छ । 

एउटा त्यस्तो समय थियो, पोखरामा पर्यटकीय क्षेत्र भन्नेबित्तिकै लेकसाइड मात्रै बुझिन्थ्यो । त्यसमा पनि गोरो छालालाई प्राथमिकता दिइन्थ्यो । नेपालीलाई पर्यटकका हिसाबले व्यवहार गर्ने प्रचलन र सोच नै थिएन । पोखराआसपासका डाँडामा राम्रा स्तरीय होटेलसहितका पर्यटकीय र दर्शनीय स्थलहरू सञ्चालनमा आएसँगै आँखैअगाडि सुन्दर हिमाल, हरियाली डाँडा, पोखरा सहरको दृश्यावलोकन गर्दै बस्न पाइने भएपछि पर्यटकको रोजाइमा वरपरका डाँडा पर्न थालेका हुन् । 

लेकसाइडका होटेलको पनि आफ्नै विशेषता रहेको जिकिर गर्दै यसरी डाँडाकाँडा पुगेर एक रात भए पनि लेकसाइड बस्न आउने पर्यटक धेरै नै रहेको उनी सुनाउँछन् । ‘सूर्योदयलगायतका दृश्यावलोकन डाँडामा लगेरै देखाउनुपर्छ । लेकसाइड बसेर फेरि अवलोकनका लागि झिसमिसे किन उकालो लाग्नु । त्योभन्दा अघिल्लै दिन डाँडैतिर गएर बसौँ भन्ने मनोविज्ञान पनि होला । तर, उहाँहरू फेरि भोलिपल्ट आएर लेकसाइडका होटेलमा बस्ने गर्नुभएको छ । यहाँको विशेषता बेग्लै छ,’ उनी भन्छन् ।  

१० हजार मानिसका लागि पूर्वाधार 
पोखराआसपासका पर्यटकीयस्तरका होटेलहरू र होमस्टेलगायतका पूर्वाधारहरूलाई हेर्ने हो भने मुख्य सहरभन्दा बाहिर १० हजारभन्दा धेरै पर्यटक राख्ने पूर्वाधार अहिले रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई बताउँछन् । पर्यटकीयस्तरका तारे होटेलहरूमै पोखरावरपर दुई हजारभन्दा धेरै पर्यटक राख्ने बेड रहेको पश्चिमाञ्चल होटेल संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । साथै, होमस्टे र सामान्य होटेल पूर्वाधार धेरै नै बनेको उनको भनाइ छ । 

सोधपुछ गर्नेको चासो नै डाँडाकाँडा
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई आन्तरिक पर्यटकले पोखराभन्दा थोरै बाहिर दुई–तीन किलोमिटर टाढा त्यस्तो होटेल छ–छैन भनेर सोध्न थालेको बताउँछन् । मुख्य सहर मानिसहरूले घुमघाम गरिसकेकाले पर्यटकलाई नयाँपन चाहिएको उनको बुझाइ छ । साथै, नेपाली पर्यटकका लागि अहिले स्थानीय स्वाद चाहिएको उनी बताउँछन् । ‘केही फरक ठाउँ, केही फरक र स्थानीय विशेषताको स्वाद आज पर्यटकले खोजिरहेका छन् ।

मुख्य सहरबाट केही बाहिरको स्थानमा पूर्वाधार बन्ने क्रम पनि त्यसै हिसाबले बढेको छ । त्यही भएर अहिले थोरै बाहिर पर्यटकको आकर्षण छ । यो अझै बढेर जान्छ,’ उनले भने । केही नयाँ खोज्ने मानिसको स्वाभाविक प्रकृति रहेको उनको टिप्पणी छ । अध्यक्ष भट्टराईले अहिले घान्द्रुक र धम्पुसलगायत वरपरका ठाउँमा जानेहरू अत्यधिक रहेको बताए । उनले भने, ‘पोखरावरपर घान्द्रुक, धम्पुस र यस्तै अन्य ठाउँ यतिवेला पर्यटकको रोजाइमा छ । हामीले पूर्वाधार निर्माणमा अझै ध्यान पु¥याउने हो भने पर्यटक त्यतातर्फ अझै धेरै जान्छन् ।’

See More On

सुझावित समाचार