नेपाल प्रहरीका सबै प्रहरी कर्मचारीलाई कोरोना भाइरसविरुद्धको खोप लगाएर सकिएको छ। संगठनमा रहेका करिब ६९ हजार प्रहरी कर्मचारीले खोप लगाइसकेको नेपाल प्रहरीले जनाएको हो।
त्यसमध्ये थोरैले मात्रै दोस्रो डोजको खोप लगाउन बाँकी रहेको नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले जानकारी दिए। उनका अनुसार विभिन्न चरणमा गरी करिब एक वर्षको अवधिमा सबै प्रहरीलाई खोप लगाइसकिएको हो। ‘सबैले पहिलो डोजको खोप लगाइसके, थोरैले मात्रै दाेस्रो डोजको खोप लगाउन बाँकी छ,’ उनले भने।
नेपाल प्रहरीले उपत्यकाभित्र रहेका प्रहरीलाई प्रहरी अस्पताल, नजिकको वडा कार्यालयहरू, सशस्त्र प्रहरी अस्पतालबाट खोप लगाउने व्यवस्था मिलाएको थियो। केही प्रहरीले पायक पर्ने अस्पतालहरूमा पुगेर खोप लगाएका थिए भने केहीलाई कार्यालयमै खोप लगाउने व्यवस्था मिलाइएको थियो।