विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको पाइएको छ। विश्व पक्षाघात दिवसका अवसरमा धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले शुक्रबार आयोजना गरेको कार्यक्रममा वरिष्ठ चिकित्सक एवं न्युरोलोजिस्ट डा. राजु पौडेलले विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको तथ्यांक सार्वजनिक भएको बताए।
‘पक्षघात भएकामध्ये एकतिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ। यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ,’ उनले भने। विश्वमा हरेक चारजनामा एकजनालाई र ६ सेकेन्डमा एकजनालाई पक्षाघातको सम्भावना रहेको डा. पौडेलले बताए। उनले नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उल्लेख गरे। नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्यांक छ।
डा. पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन आग्रह गरे। सन्तुलन गुम्नु, अनुहार बांगाे हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लर्बराउनु, हातखुट्टा लुरो हुनु पक्षाघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घन्टाभित्रै अस्पताल पुग्न सके मात्र उपचार सम्भव रहेको उनले बताए। पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गरिने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्नेसमेत डा. पौडेलको भनाइ थियो।
आज २९ अक्टोबर अर्थात् विश्व पक्षघात दिवसका अवसरमा काठमाडौंको महाराजगन्जदेखि सामाखुसी चोकसम्म जनचेतनामूलक कार्यक्रमसहित पदयात्रा गरिएको थियो। उक्त अस्पताल, नेसनल न्युरो सेन्टर र नेपाल पक्षघात संघको आयोजनामा गरिएको उक्त कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, कर्मचारी, संघका पदाधिकारी एवं न्युरो सेन्टरका कर्मचारीको सहभागिता थियो।