सिराहामा एक वृद्धको शव फेला परेको छ। सिराहा–चोहर्वा सडक खण्डअन्तर्गत नरहा गाउँपालिका– ५ बलुवा चोकनजिकै वृद्धको शव फेला परेको प्रहरीले जनाएको छ। शव विष्णुपुर गाउँपालिका– २ कौवाहाका ७० वर्षीय किसन यादवको रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
टाउकोमा चोट लागेको र शरीरको विभिन्न भागमा रगत लतपतिएको अवस्थामा शव फेला परेको बताइएको छ। शव सडकछेउमा फेला परेपछि प्रहरीले दुर्घटनाको अनुमान गरेको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताए ।
यादवले गाउँघरमा धामी–झाँक्रीको काम गर्दै आएका थिए। आफन्तका अनुसार उनी घरबाट खाना खाएर गएराति विष्णुपुर बजारमा नाच हेर्न निस्केका थिए। नाच हेर्न विष्णुपुर बजार जाने भनेको उनको शव बलुवा चोकनजिकै फेला परेपछि घटना शंकास्पद रहेको स्थानीय अशोक यादवले बताए।