अस्पताल भर्ना भएका कोभिड बिरामीमध्ये ३५ प्रतिशतभन्दा बढी गम्भीर

बिहिबार, ११ कार्तिक, २०७८
डिजिटल संस्करण

कोरोना संक्रमण नियन्त्रणमा रहे पनि गम्भीर बिरामीको संख्या भने घट्न सकेको छैन । संक्रमणदर र अस्पताल भर्नादर न्यून हँुदै गए पनि आइसियू र भेन्टिलेटरमा बिरामीको संख्या भने अझै लगभग ३५ प्रतिशतभन्दा बढी छ ।

कोभिडविरुद्धको खोप सहज हुँदै गएपछि कोरोना संक्रमण दरसमेत घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बुधबार कोरोना संक्रमण कुल परीक्षण दरको ७ प्रतिशत पुगेको छ । पछिल्लो २४ घन्टामा नौ हजार चार सय ९५ जनामा गरिएको परीक्षणमा ६ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । तर, अस्पताल भर्ना हुनेमध्ये गम्भीर बिरामीको संख्या भने स्थिर रहेको चिकित्सकहरू बताउँछन् । मन्त्रालयको तथ्यांकअनुसार सबैभन्दा धेरै गम्भीर बिरामी काठमाडौं उपत्यकामा छन् । 

पछिल्लो एक साता संक्रमणपछि अस्पताल भर्ना भएका कुल संक्रमितमध्ये ३५ देखि ३८ प्रतिशत बिरामी भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांकले देखाउँछ । बुधबार मात्रै देशभर अस्पतालमा भर्ना भएका आठ सय २५ बिरामीमध्ये दुई सय ५४ जना आइसियू र ८६ जना बिरामी भेन्टिलेटरमा उपचाररत छन् । पछिल्लो समय कोभिड लगभग नियन्त्रणमा रहे पनि सघन उपचारका शय्याहरू भने खाली नभएको चिकित्सकहरूको भनाइ छ । ‘बाहिर हेर्दा कोभिड नियन्त्रणमा आइसकेको छ, तर अस्पताल पुग्ने केसहरूमध्ये सिभियर धेरै हुने हुँदा आइसियू र भेन्टिलेटर भने अझैसम्म भरिभराउ नै छन्,’ डा.अनुप बास्तोलाले भने । कोभिड उपचारका लागि छुट्याइएको शुक्रबार ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोना संक्रमितको चाप भने निकै घटेको छ । 

मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी बिरामी अस्पतालमा उपचाररत छन् । बुधबार मात्रै अस्पतालमा उपचाररत तीन सय ६३ मध्ये एक सय ४० जना आइसियू र ५४ जना भेन्टिलेटरमा उपचाररत छन् । काठमाडौंमा मात्र नभई कोभिडका उपचार भइरहेका देशभरका ठूला अस्पतालमा गम्भीर बिरामीको संख्या भने तुलनात्मक रूपमा धेरै नै रहेको बताउँछन् भेरी अस्पतालका कोभिड इन्चार्ज डा.संकेत रिसाल ।

संक्रमण दर ७ प्रतिशत
खोपको पहुँच सहज बन्दै गएपछि कोभिड संक्रमण दर ७ प्रतिशतमा झरेको छ । पछिल्लो २४ घन्टामा ६ सय ७२ जनामा संक्रमण देखिँदा चार सय ९५ जना कोभिडमुक्त भएका छन् । यो अवधिमा सात हजार एक सय ६७ जनाको पिसिआर परीक्षण र दुई हजार तीन सय २८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । पछिल्लो २४ घन्टामा आठ संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ८० पुगेको छ । हाल देशभर १० हजार तीन सय ७५ सक्रिय संक्रमित छन् । एक करोड ५४ लाखभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएका छन् । 

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार