- साढे पाँच खर्बको वैदेशिक व्यापार, चार खर्ब घाटा
- निर्यात १०९ प्रतिशतले बढेर ६५ अर्ब पाँच करोड रुपैयाँ पुग्यो
चालू आर्थिक वर्षको तीन महिना अर्थात् असोज मसान्तसम्ममा नेपालको आयात तथा निर्यात दुवै उच्चदरमा वृद्धि भएको छ । यस अवधिमा मुलुकको निर्यात एक सय ९ प्रतिशतले बढेर ६५ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ३१ अर्बको मात्रै निर्यात भएको थियो ।
तीन महिनाको अवधिमा आयात व्यापार भने ६३.७३ प्रतिशतले बढेको छ । यस अवधिमा चार खर्ब ७८ अर्ब ५२ करोड रुपैयाँबराबरको आयात भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा दुई खर्ब ९२ अर्ब २६ करोड रुपैयाँबराबरको आयात भएको थियो ।
आयात र निर्यात गरी मुलुकले यस अवधिमा कुल पाँच खर्ब ४३ अर्ब ५७ करोड रुपैयाँबराबरको वैदेशिक व्यापार गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ६८.१३ प्रतिशतले बढी हो । कुल व्यापारमा आयातको हिस्सा ८८.०३ प्रतिशत छ । आयात उच्चदरमा बढेपछि नेपालको व्यापार घाटासमेत चुलिएको छ । तीन महिनामा नेपालले कुल चार खर्ब १३ अर्बको व्यापार घाटा व्यहोरेको छ ।
खासगरी आर्थिक गतिविधि तथा खपत बढ्दै जाँदा आयात उच्चदरमा बढेको वाणिज्य सचिव दिनेश भट्टराईले बताए । यद्यपि, यो तथ्यांकलाई गत वर्षको असामान्य अवस्थामा भएको आयातसँग मात्रै तुलना गर्न नहुने उनको तर्क छ । ‘आर्थिक गतविधि तथा खपत बढेसँगै आयात बढिरहेको छ, जुन स्वाभाविक पनि हो,’ उनले भने, ‘यद्यपि, उच्च आयातबाट बढेको व्यापार घाटा र शोधनान्तर एवं विदेशी विनिमय सञ्चितिमा परेको चापप्रति हाम्रो ध्यान गएको छ ।’
विलासिताका वस्तुलाई निरुत्साहित गर्नुपर्छ : दिनेश भट्टराई सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
अहिले आयात उच्चदरमा बढेको देखिएको छ । तर, यो तथ्यांकलाई गत वर्षको तथ्यांकमा मात्रै तुलना गरेर हेर्नुहुँदैन । गत वर्ष असामान्य स्थितिमा आयात घटेको थियो, त्यसैले पनि अहिले उच्चदरको वृद्धि देखिएको हो ।
यद्यपि, उच्च आयात र त्यसबाट बढेको व्यापार घाटाप्रति हाम्रो चासो छ । शोधनान्तर र विदेशी विनिमय सञ्चितिमा परेको चापलाई हामीले हेरिरहेका छौँ । आवश्यकताअनुसार विलासिता र अनावश्यक वस्तुको आयात निरुत्साहित गर्ने विषयमा छलफल भइरहेको छ । अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले सोहीअनुसार व्यापार उपकरणहरू अपनाइरहेका छन् ।
