सेयर बजारमा ८७ अंकको उछाल, कारोबार रकममा सुधार

सोमबार, ८ कार्तिक, २०७८
डिजिटल संस्करण

सेयर बजारमा ८७ दशमलव ६३ अंकको उछाल आएर दुई हजार ६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेर बन्द भएको छ। बैंकको ब्याजदरमा राष्ट्र बैंकले कैँची लगाइदिएपछि बजारमा एकाएक उछाल आएको हो। लगानीकर्ताहरूले बुलिस ट्रेन्डको अवस्था नसकिएको  अहिले  प्रस्ट भएको बताउने गरेका छन्। 

नेप्सेमा सुधार आएसँगै कारोबार रकममा पनि विगतको  कारोबारभन्दा तुलानात्मक रूपमा सुधार आएको छ। धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ कम्पनीको ८३ लाख ९५ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा चार अर्ब ३० करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।  सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक, अपि पावर कम्पनी, सिद्धार्थ बैंक, नेसनल हाइड्रोपावर, नबिल बैंक लिमिटेड १६ करोड रुपैयाँदेखि ११ करोड रुपैयाँसम्मको सेयर खरिद–बिक्री भएको छ।

त्यसैगरी  कारोबारमा आउने १३ वटै समूहको सूचक  सोमबार  सकारात्मक बनेका छन्। सो दिन जलविद्युत् र  फाइनान्स समूहका लगानीकर्ताहरूले सर्वाधिक नाफा आर्जन गरेका छन्। विकास बैंक, जीवन बिमा, निर्जीवन बिमा, वाणिज्य बैंक, विकास बैंकमा पनि लगानीकर्ताको आकर्षण बढेको छ।

बढेको सेयर सो दिन दुई दर्जन कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ। गोर्खाज फाइनान्स, वेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स, मल्टप्रपोज कम्पनी सांग्रिला डेभलपमेन्ट, दिव्यश्वरी हाइड्रोपावर, सिनर्जी हाइड्रोपावर, अरुण  काबेली हाइड्रोपावर कम्पनी, हिमालयन पावर कम्पनी, युनियन हाइड्रो पावरलगायत कम्पनीको सेयर सर्किट मूल्यमा कारोबार भएको छ। सो दिन १० वटा कम्पनीको सेयर मूल्यमा मात्र सामान्य गिरावट आएको छ। मेरो माइक्रो फाइनान्स, युनिलेभर नेपाल कम्पनीको सामान्य अंकले गिरावट आएको छ।
 

See More On

सुझावित समाचार