नामिबिया टी–२० विश्वकपको सुपर १२ मा

शनिबार, ६ कार्तिक, २०७८
डिजिटल संस्करण

टेस्ट तथा एकदिवसीय मान्यताप्राप्त आयरल्यान्डमाथि आठ विकेटको सनसनीपूर्ण जित निकाली नामिबियाले आइसिसी पुरुष टी–२० विश्वकपको सुपर १२ मा स्थान पक्का गर्यो

नामिबिया आइसिसी पुरुष टी–२० विश्वकपको सुपर १२ मा पुगेको छ । टी–२० विश्वकपअन्तर्गत पहिलो चरणको समूह ‘ए’मा नामिबियाले शुक्रबार आयरल्यान्डलाई आठ विकेटले हराउँदै सुपर १२ को स्थान पक्का गरेको हो । यससँगै नामिबियाले अर्को वर्ष अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा समेत स्थान सुरक्षित गरेको छ । समूह ‘ए’मा नामिबिया चार अंकका साथ उपविजेता बन्यो । यस समूहमा श्रीलंकाले सर्वाधिक ६ अंक जोडेको छ । श्रीलंका समूह ‘ए’बाट सुपर १२ मा पुग्ने पहिलो टोली बनेको थियो । अब नामिबियाले भारत, पाकिस्तान, न्युजिल्यान्ड, स्कटल्यान्ड र अफगानिस्तान रहेको समूहमा प्रतिस्पर्धा गर्नेछ । 

आयरल्यान्डको मध्यम योगफल
समूह ‘ए’बाट सुपर १२ को आशा जीवितै राख्न आयरल्यान्डलाई जित आवश्यक थियो । प्रतिस्पर्धामा उत्रिनुअघि आयरल्यान्ड र नामिबियाले समान दुई अंक बटुलेका थिए । यो खेलको विजेता नै सुपर १२ मा पुग्ने थियो । टेस्ट तथा एकदिवसीय मान्यताप्राप्त आयरल्यान्डले सारजहाँ रंगशालामा सोचेको जस्तो ब्याटिङ गर्न सकेन । नामिबियाका बलरले उत्कृष्ट बलिङ प्रदर्शन गर्दा पहिलो ब्याटिङ गरेको आयरल्यान्डले २० ओभरमा आठ विकेटको नोक्सानीमा एक सय २५ रन मात्र जोड्यो । 

प्रत्युत्तरमा नामिबियाले १८.३ ओभरमा केवल दुई विकेटको नोक्सानीमा एक सय २६ रन बनाउँदै आयरल्यान्डमाथि सनसनी जित मात्र दर्ता गरेन, विश्वकपको सुपर १२ मा समेत स्थान सुरक्षित ग¥यो । नामिबियाको ऐतिहासिक जितमा डेभिड विएसे र गेर्हाड इरास्मुसले तेस्रो विकेटका लागि नटआउट ५३ रनको साझेदारी गरेका थिए । 

डेभिडले १४ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २८ रन जोडे । इरास्मुसले ४९ बलमा तीन चौका र एक छक्काको सहयोगमा ५३ रनको अर्धशतकीय इनिङ खेले । यी दुवैले ७३–२ को अवस्थाबाट तेस्रो विकेटका लागि साझेदारी गरेका हुन् । दुवैले ५.१ ओभर ब्याटिङ गर्दा १०.२५ रनरेट राखेका थिए । 

शीर्ष तीन ब्याट्सम्यान मात्र चले
आयरल्यान्डको ब्याटिङ इनिङ्समा तीनजना शीर्ष ब्याट्सम्यान मात्र चले । यसबाहेक अन्य सातजना ब्याट्सम्यानले दोहोरो रनसमेत बनाउन सकेनन् । ओपनर पाउल स्टेर्लिङ र केभिन ओ ब्रायनले पहिलो विकेटका लागि ७.२ ओभरमा ६२ रनको बलियो साझेदारी गरे । यी दुईको साझेदारीमा नामिबियाले चुनौतीपूर्ण लक्ष्य पाउने अनुमान गरिएको थियो । तर, पाउलको विकेट स्चोल्टजले लिएपछि नामिबिया खेलमा फर्कियो । 

पाउलले २४ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ३८ रनको योगदान दिए । इनिङ्सको ८.४ ओभरमा दोस्रो ओपनर केभिनको विकेट फयाक्लिनले लिए । केभिनले २४ बलमा दुई चौका प्रहार गरी २५ रन बनाए । कप्तान एन्ड्य बाब्रिनेले २१ रन जोडे । नामिबियाका बलरले कसिलो बलिङ गरेका कारण नै आयरल्यान्डका चौथो क्रमपछिका ब्याट्सम्यानले रन जोड्न निकै मिहिनेत गर्नुपरेको थियो । फयाक्लिनले २१ रन खर्चेर आयरल्यान्डका तीन ब्याट्सम्यानलाई आउट पारे । यसैगरी, डेभिड विएसेले २२ रनमा दुई विकेट लिए । 

नेदरल्यान्ड्स ४४ रनमा अलआउट
विश्वकपअन्तर्गत पहिलो चरणको समूह एमा नेदरल्यान्ड्स आफ्नो अन्तिम खेलमा श्रीलंकासँग आठ विकेटले पराजित भएको छ । पहिलो ब्याटिङ गरेको नेदरल्यान्ड्स ४४ रनमै अलआउट भएको थियो । श्रीलंकाले ७.१ ओभरमा दुई विकेटको क्षतिमा ४५ रन जोड्दै सानदार जित निकाल्यो । श्रीलंकाका लागि कुसल परेराले सर्वाधिक ३३ रनको योगदान दिए । उनले २४ बलमा ६ चौका प्रहार गरे । यसअघि ब्याटिङ गरेको नेदरल्यान्ड्का लागि कोलिन अकेरामले मात्र सर्वाधिक ११ रन जोडेका थिए । बलिङमा श्रीलंकाका लागि लहिरू कुमारा र हसारांगा सिल्भाले समान तीन–तीन विकेट हात पारे । 

सकिवको अलराउन्ड प्रदर्शन
अलराउन्डर सकिव उल हसनको अलराउन्ड प्रदर्शनको मद्दतमा बंगलादेशले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सुपर १२ स्थान सुरक्षित गरेको छ । समूह ‘बी’मा स्कटल्यान्डसँग स्तब्ध भएको बंगलादेशले त्यसपछिका लगातार दुई खेलमा जित निकाली पहिलो चरण पार गरेको हो । समूह ‘बी’को आफ्नो अन्तिम खेलमा बंगलादेशले पपुवा न्युगिनीमाथि ८४ रनको फराकिलो अन्तरले जित निकालेको हो । 

समूह ‘बी’मा बंगलादेशले तीन खेलबाट सर्वाधिक चार अंक जोडेको छ । लगातार तीन हारसँगै पपुवा न्युगिनी समूह चरणबाटै बाहिरिएको छ । ओमानको अल इमेरातमा पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रनको योगफल खडा गरेको थियो । प्रत्युत्तरमा पहिलोपटक विश्वकप खेलिरहेको पपुवा न्युगिनी १९.३ ओभरमा ९७ रनमै समेटियो । 

उनले ब्याटिङमा ३७ बलमा ४६ रन जोड्दा तीन छक्का प्रहार गरे । बलिङमा सकिवले नौ रन मात्र खर्चेर चार विकेट लिए । पपुवा न्युगिनीका लागि आठौँ नम्बरका ब्याट्सम्यान किल्पिन डोरिगाले सर्वाधिक ४६ रनको योगदान दिए । 

See More On

सुझावित समाचार