नेकपा एकीकृत समाजवादीका नेता एवं श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले तिहारलगत्तै मन्त्रीको काम देखिने बताएका छन् । उनले अहिले मन्त्रालयको कार्ययोजना बनाउने काममा व्यस्त भएको भन्दै तिहारलगत्तै देखिने गरी काम हुने बताए ।
नेकपा एकीकृत समाजवादी रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले देखिने गरी काम गर्ने दाबी गरे । ‘समाजवादीबाट गएका मन्त्रीहरूको देखिने गरी काम हुनेछ,’ उनले भने ।
मन्त्री श्रेष्ठले कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा गएका नेपालीहरूले भोगेका समस्या समाधानका लागि कुटनीतिक रूपमा पहल गरिरहेको समेत बताए । उनले श्रम कार्यालयहरूलाई दिने सेवालाई छिटो छरितो बनाउने, श्रम सम्झौता भएका देशहरूसँग परामर्श गर्नेलगायतका काम भइरहेको बताए ।
उनले नेपालका लाखौँ श्रमिकलाई मध्यनजर गरेर श्रमिक अस्पताल बनाउने सोच रहेको पनि बताए । उनले वैदेशिक रोजगारीमा जानेहरूलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने प्रबन्ध मिलाउने समेत बताए । ‘विदेश जानेहरूलाई सहज रूपमा खोप लगाउने व्यवस्था हुन्छ,’ श्रेष्ठले भने, ‘त्यति मात्रै होइन अब प्रत्येक बसपार्कमा नै बसेर खोप लगाउने सरकारको योजना छ ।’
उनले सकेसम्म युवाहरूलाई स्वदेशमै राख्ने वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।