लगातारको वर्षाका कारण झापाका विभिन्न स्थानका तीन सय ६१ घरपरिवार विस्थापित भएका छन्। उनीहरूलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलगायतका सुरक्षित स्थानमा सारिएको छ।
कन्काई, बिरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगन्ज, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिकाका केही बस्ती डुबानमा परेका छन्। डुबान क्षेत्रमा रहेका परिवारका सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मी र जनप्रतिनिधिले सुरक्षित स्थानमा सारेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए।
अझै पनि आफ्नो सम्पत्तिको सुरक्षा नहुने भन्दै गौरीगन्ज– १ होक्लाबारीस्थित डुबान क्षेत्रका कतिपयले सुरक्षित स्थानमा जान नमानेपछि डुबान क्षेत्रमा बिहानैदेखि प्रजिअ तिम्सिनासहित, रेडक्रस झापाका सभापति लोकराज ढकाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी २ नम्बर गणका प्रहरी निरीक्षक रमेशकुमार पाण्डे, चारआली श्रीनाथ गणका गणपति अमरजंग थापालगायतको टोली पुगेको छ।
टोलीले उनीहरूलाई सम्झाइबुझाई गरेर सुरक्षित स्थानमा सार्ने र विस्थापित परिवारलाई चिउरा, दालमोठ, मुरै, बिस्कुटलगायतका खानेकुरा स्थानीय तहको समन्वयमा वितरण गर्ने काम गरिरहेको छ।
डुबान क्षेत्रमा पानीको मात्रा घट्दै गए पनि पहाडी क्षेत्रमा परेको पानीका कारण खोलानालामा पानीको बहाव नघट्दा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी तिम्सिनाले बताए। उनले डुबान क्षेत्रका सबै परिवारलाई सुरक्षित स्थानमा सार्नुको तत्काल विकल्प नरहेको बताएका छन्। रासस