बिदा मनाउने गन्तव्य तिलिचो ताल

बुधबार, ३ कार्तिक, २०७८
डिजिटल संस्करण

मनाङको तिलिचो ताल आन्तरिक पर्यटकका लागि बिदा मनाउने गन्तव्य स्थल बनेको छ । मनाङको ङिस्याङ गाउँपालिका–९ मा पर्ने तिलिचो ताल समुद्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा छ । केही वर्षअघिसम्म बाह्य पर्यटक मात्रै पुग्ने यो ठाउँ पछिल्लो सयम आन्तरिक पर्यटकको समेत रोजाइमा पर्न थालेको छ । 

विशेषगरी, दसैँ–तिहारजस्तो लामो बिदामा यहाँ पुग्ने आन्तरिक पर्यटक धेरै हुने स्थानीयको भनाइ छ । केही वर्षयता दसैँ नै यतै मनाउने गरी समेत पर्यटक आउने गरेको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङ बताउँछन् ।  गत वर्ष कोरोना महामारीका कारण मनाङ पुग्ने आन्तरिक र बाह्य पर्यटक निकै कम थिए । तर, यस वर्ष मनाङका विभिन्न पर्यटकीय क्षेत्रसहित तिलिचो जाने बढेका छन् ।

मनाङको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेका अनुसार यो सिजनमा आकाश खुलेर वरिपरिका दृश्य प्रस्ट देखिने हुँदा पनि पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ । खासगरी, तिलिचो भ्रमणका लागि असोज र कात्तिकदेखि मंसिर उपयुक्त हुने उनको भनाइ छ । यस्तै, चैत–वैशाखदेखि जेठ अन्त्यसम्म यहाँको मौसम निकै खुल्ने उनको भनाइ छ ।

 तिलिचोको आकर्षण
तिलिचो तालको वरिपरि मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, नीलगिरि हिमशृंखलाले स्वदेशी तथा विदेशी पर्यटकको मन लोभ्याउँछ । तालमा पुगेपछि यहाँ आउँदाको सबै कष्ट र जोखिम बिर्सिइने सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्म मनाङका डिएसपी अर्जुन पौडेल बताउँछन् । विश्व प्रसिद्ध अन्नपूर्ण पदमार्गमा आउने पर्यटक तिलिचोसम्म पुग्ने गरेका छन् । कतिपय पर्यटकले गन्तव्य नै तिलिचो ताल बनाएर पनि आउने गरेका छन् । अग्ला हिमशृंखला, थोरङला पास, लार्के पास लगायत क्षेत्र र स्थानीय रीतिरिवाज, भेषभूषा र गुम्बा, छोर्तेन यहाँका घुम्नयोग्य स्थान हुन् । 

तिलिचो ताल तीन दशमलव आठ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । पौराणिक किंवदन्तीअनुसार यस ताललाई काग भुसुन्डे तालका नामले पनि चिनिन्छ । खाङसारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग चार घन्टाको पदयात्रापछि तिलिचो बेसक्याम्प पुगिन्छ । बेसक्याम्पमा एक रात बसेपछि करिब पाँच घन्टा उकालो हिँडेर तिलिचो ताल पुगिन्छ । 

कसरी पुग्ने तिलिचो ?
तिलिचो ताल पुग्न अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ सदरमुकाम बेसीसहरबाट मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटर लामो बेसीसहर–चामे सडक र चामेदेखि पिसाङ, हुम्दे, मनाङ अनि खाङसारसम्म मोटरमा यात्रा गर्नुपर्छ । बेसीसहरदेखि खाङसारसम्म सीधा यातायात सेवा सञ्चालन छ । खाङसारदेखि श्रीखर्क हुँदै तीन घन्टा पैदलयात्रापछि तिलिचो तालको बेसक्याम्प पुगिन्छ । बेसक्याम्पबाट पाँच घन्टा पैदलयात्रा गरेपछि तिलिचो ताल पुग्न सकिन्छ ।

सुझावित समाचार