बेमौसमी वर्षाले झापामा १८ परिवार विस्थापित भएका छन् । कन्काई माई नदी सचेतनाको तह पार गरेर बस्तीमा पस्दा गौरीगन्ज– १ स्थित टपु बस्तीका १८ परिवार विस्थापित भएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।
ती परिवारलाई गौरीगन्ज गाउँपालिकाको समन्वयमा सुरक्षित स्थानमा सारिएको उनले बताए । यस्तै, गौरीगन्ज– १ कै हुक्लाबारी पनि वरिपरिबाट माई नदीले घेरिएको उनले बताए । त्यहाँ ८५ घरपरिवार छन् । तीमध्ये सुरक्षित भएर केही घरमै बसेको र केही परिवार नजिकै रहेको चर्चमा बसेको प्रजिअ तिमिल्सिनाले जानकारी दिए ।
‘केही परेमा खबर गर्न भनेका छौँ । नजिकै सशस्त्र प्रहरीको बिओपी छ । हामीले रबरबोट पनि स्टान्डबाई राखेका छौँ,’ उनले भने, ‘नदी बढे तत्काल उद्धारका लागि प्रहरी र सशस्त्र प्रहरी तयार छ ।’
गाउँमा वारिपारि गर्न राखिएको डुंगा पनि नदीले बगाएको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।
बस्तीसम्म पनि पुग्ने अवस्था नरहेको उनको भनाइ छ । ‘त्यहाँका स्थानीय आज सुरक्षित स्थान चर्चतिर गएर बस्छन् । अहिले त त्यहाँ जान सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘भोलिचाहिँ उद्धार गरेर कुञ्जीबारीमा राख्नुपर्छ । राति ठूलो पानी आएमा गाउँपालिकाको सहकार्यमा सशस्त्र प्रहरीले उद्धार गर्छ ।’
लगातार वर्षा भइरहेकाले नदी तटीय क्षेत्रमा जोखिम कायमै रहेको सभापति ढकालले बताए । उनका अनुसार माई नदीले सतर्कताको तह पार गरेको छ । कन्काई माई नदीको सतर्कताको तह तीन दशमलव आठ हो भने खतराको तह चार दशमलव तीन हो । कन्काई माईको बहावले सतर्कता तह पार गरेर खतराको तह पुग्न लागेको ढकालले बताए । ‘अझै केही घन्टा पानी पर्याे भने खतराको तह पनि पार गर्ने अवस्था छ,’ उनले नयाँ पत्रिकासँग भने ।