महाकाली नदीमा शताब्दीकै उच्च जलस्तर, रेड लिस्टमा कञ्चनपुर

मंगलबार, २ कार्तिक, २०७८
डिजिटल संस्करण

मनसुनपछि अनपेक्षित रूपमा आइतबारदेखि निरन्तर रूपमा परिरहेको वर्षाका कारण महाकाली नदीको जलस्तर झन्डै एक शताब्दीकै उच्च पुगेको छ। सन् १९२९ मा निर्माण भएको ब्यारेजमा पानीको बहाब ९२ वर्षयताकै उच्च पुगेको हो।

मंगलबार दिउँसो २ बजे महाकाली नदीमा पाँच लाख ४७ हजार दुई सय २४ क्युसेक पानी मापन गरिएको छ। ब्यारेजको तथ्यांकअनुसार सन् २०१३ मा पाँच लाख ४४ हजार चार सय ७६ क्युसेक बहाव पानी पुगेको थियो, त्यसलाई समेत नाघ्दै अहिले पाँच लाख ४७ हजार दुई सय २४ क्युसेक पुगेको हो।

शारदा ब्यारेजको रेकर्डअनुसार सन् १९६६ मा चार लाख ३७ हजार, १९६९ मा चार लाख ८० हजार पाँच सय ९६, सन् १९७२ मा चार लाख ९६ हजार एक सय, सन् २००८ मा चार लाख ६१ हजार सात सय ८८ र सन् २०१३ मा पाँच लाख ४४ हजार चार सय ७६ क्युसेक बहाव मापन गरिएको थियो।

महाकाली नदीमा पानीको बहाव उच्च भएपछि ९२ वर्षअघि बनेको शारदा ब्यारेज (वनबासा पुल)समेत उच्च जोखिममा परेको छ। बिहानैदेखि पुलमा आवागमनसमेत बन्द गरिएको छ। अहिलेसम्मकै उच्च बहावका कारण शारदा ब्यारेजमा रातो बत्ती बालिएको छ। महाकाली नदी तटीय नेपाल र भारत दुवैतर्फ बस्ती डुबानमा परेसँगै त्रास छाएको छ।

सुझावित समाचार