कर्णालीमा बाढीले खतराको संकेत नाघेपछि गाउँहरूमा बाढी (भिडियोसहित)

मंगलबार, २ कार्तिक, २०७८
डिजिटल संस्करण

कर्णाली नदीमा आएको बाढी कैलालीका गाउँ पस्न थालेको छ । टीकापुर नगरपालिका– ५ शाहीपुरमा ड्याम भत्काएर बाढी गाउँ पस्न थालेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। त्यहाँ बाढी नियन्त्रणका लागि बनाइएको बाँध फुटेको जिल्ला प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए।

शाहीपुरबाट कर्णाली नदीको बाढी गाउँ पस्न थालेपछि टीकापुर नगरपालिकाको वडा नम्बर ५ देखि ९ सम्मका बस्तीहरू जोखिममा परेका छन्। प्रभावित क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राखेर नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएको छ।

अत्यधिक वर्षासँगै कर्णालीमा बाढीको सतहले खतराको संकेत नाघेको छ। चिसापानीमा रहेको जलमापन केन्द्रमा पानीको सतह १२.०५ मिटर मापन भएको प्रशासनले जनाएको छ। नदीमा बाढीको सतह १०.८० मिटर पुगेमा खतराको तह मानिन्छ। बाढीले खतराको संकेत नाघेसँगै प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको छ।

रानीजमरा सिँचाइको बाँधमा क्षति
कर्णालीमा आएको बाढीले चिसापानीस्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको बाँधमा समेत क्षति हुन थालेको छ। बाँध केही ठाउँमा सामान्य भत्किन थालेको सूचना अधिकारी जोशीले जानकारी दिए। बाढीको सतह कम नभए बाँधमा ठूलो क्षति हुन सक्ने उनले बताए।

बाँधको छेउबाट बाढीले बगाउन थालेको हो। कैलालीमा अर्बौँ रुपैयाँको लगानीमा रानीजमरा सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा छ।

See More On

सुझावित समाचार