कांग्रेसले मधेसलाई रिझाउन नसके आगामी निर्वाचनमा ठूलो क्षति हुन्छ : उपसभापति निधि

सोमबार, १ कार्तिक, २०७८
डिजिटल संस्करण

कांग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टीले मधेसलाई रिझाउन नसके आगामी निर्वाचनमा ठूलो क्षति हुने दाबी गरेका छन् । दसैँ मनाउन एक सातादेखि गृह जिल्ला धनुषामा रहेका निधिले सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै यस्तो दाबी गरेका हुन् । 

कांग्रेसको आधारभूमि पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म मधेस रहेको भन्दै निधिले भने, ‘कांग्रेस जहिले पनि मधेसकै भोटको सहयोगमा निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छ, मधेसको सहयोगविना कांग्रेसले कहिले पनि निर्वाचनमा राम्रो गर्न सकेनन् । त्यसकारण कांग्रेसलाई मधेसको सहयोग आवश्यक छ । पार्टीका शीर्ष नेताहरूले पनि यो कुरा बुझिरहेका छन् । तर, अब मधेसले के चाहेको छ ? मधेसलाई कसरी रिझाउन सकिन्छ भन्ने कुरा पार्टीका शीर्ष नेताहरूको हातमा छ ।’ 

मधेसका जिल्लाहरूको भ्रमणमा जाँदा नेता तथा कार्यकर्ताहरूले आफूले सभापतिमा उम्मेदवारी दिएकोमा खुसी भएको र शुभकामना पनि दिएको निधिले बताए । पार्टीलाई मधेस र देशमा मजबुद बनाउन आफूले पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको उनको दाबी छ । उनले भने, ‘पार्टीका अधिकांश शीर्ष नेताहरूले पार्टीलाई मधेसको सहयोगको अति आवश्यक छ, तपाईं अगाडि आउनुस् हामी सहयोग गर्छौँ भनेर आश्वासन पाएको छु । र, मलाई लाग्छ उहाँहरूले मलाई सभापतिमा सहयोग गर्नुहुन्छ ।’ 

पार्टीका शीर्ष नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतसँग सभापतिको विषयमा निरन्तर छलफल भइरहेको निधिले बताए ।

सुझावित समाचार