बाग्लुङ जिल्लाको पश्चिम निसीखोला गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार र पूर्वाधार निर्माणमा जोड दिएको छ। पालिकाभित्र रहेका सबै धार्मिक तथा पर्यटकीय गन्तव्यको विकास र प्रवर्द्धनका लागि अभियान नै थालेको हो।
पर्यटकीय गन्तव्यको विकास गर्ने क्रममा गाउँपालिकाले ऐतिहासिक नरसिंहकोटलाई समेत प्राथमिकतामा राखेर विकास गर्न थालेको छ। तत्कालीन बाइसे–चौबिसे राज्य हुँदा जिल्लाको विभिन्न ठाउँमा विभिन्न राजाले राज्य सञ्चालन गरेको पाइन्छ। यसमध्ये जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुटको नरसिंहकोटमा पनि राजाले राज्य सञ्चालन गरेको बुढापाका बताउँछन्।
भूरे राजाले राज गरेको यस स्थान अहिले निसीखोला गाउँपालिकाको धार्मिक तथा पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ। तत्कालीन अवस्थामा भुरे राजाले दरबार बनाएर करिब सात–आठ वर्ष राज गरेको स्थानीयवासी ८३ वर्षीय टीकाबहादुर कुँवर बताउँछन्। त्यस क्षेत्रमा राजाले आफू बस्ने दरबार, पौवाहरू निर्माण गरेको र विस्थापित भएपछि दरबार र पौवाहरू जीर्ण भएर भत्किएको उनले बताए। दरबार तथा पौवा निर्माण भएको स्थानमा केही वर्ष अगाडिसम्म भग्नावशेष भेटिने गरेको स्थानीयवासी बताउँछन् ।
नरसिंहकोट र राजकुटको अर्थ बेग्लाबेग्लै भएको स्थानीयवासी बताउँछन्। ‘राजकुट’ तत्कालीन बाइसे–चौबिसे राज्य हुँदा भुरे राजाले बसोवास गरेको हुँदा ‘राजकोट’ भन्ने गरिएको र अहिले आएर ‘राजकोट’लाई राजकुट भन्ने गरिएको उनको भनाइ छ। यस्तै ‘नरसिंहकोट’ राजाले पूजा गर्ने नरसिंह देवताको नामबाट नामाकरण हुन पुगेको कुँवरको भनाइ छ।
तत्कालीन समयमा भुरे राजा र प्युठानी राजाबीच युद्ध भएको र प्युठानी राजले भुरे राजाको वंश नास गरिदिएको र उनका सयौँ सिपाहीको युद्धमा ज्यान गएको स्थानीयवासी कुँवरको दाबी छ। उनले प्युठानी राजाले भुरे राजाका धेरै सिपाहीलाई भिरबाट खसालेर मारेको र राजाको वंश नास गरिदिएपछि उनीहरूको स्मृतिमा हालको नरसिंहकोटमा नरसिंह मन्दिर निर्माण गरिएको बताए। उनै राजाले पुज्दै आएको ‘नरसिंह’ देवताको व्यवस्थापनका लागि मन्दिर स्थापना गरिएको हो।
नरसिंहकोटमा अहिले पनि मन्दिर छ। जहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजाआजा गरिन्छ भने पशुपक्षीको बलि पनि चढाइने गरिन्छ। मन्दिरमा वैशाखे पूर्णिमा, मंसिरे पूर्णिमालगायत चतुर्दशी पूर्णिमामा समेत पूजाआजा हुने गर्दछ। यहाँ पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ। बाग्लुङ, प्युठान, गुल्मीलगायतका विभिन्न स्थानबाट मानिस पूजाआजा गर्न पुग्ने गर्दछन्।