मनाङका बाढीपीडितलाई दसैँ मनाउन खाद्यान्न सहयोग

शुक्रबार, २९ असोज, २०७८
डिजिटल संस्करण

हिमाली जिल्ला मनाङका बाढीपीडितलाई खाद्य सामग्री सहयोग गरिएको छ। नासों गाउँपालिका– ७  तिल्चेका  ७५ घरधुरीलाई दसैँ मनाउन खाद्यान्न वितरण गरिएको हो।

नासों गाउँपालिका ६ र ७ तिल्चे घर भई बेलायत, अमेरिका, अस्ट्रेलिया, कोरिया, बेल्जियम, इटालीलगायतका देशमा बस्दै आएका रिहं च्हमी चेलिबेटीहरूले राहत सहयोग गरेको स्थानीय चेकमान गुरुङले बताए। उनीहरूले पठाएको १० लाख ५६ हजार तीन सय ६४ रुपैयाँबराबरको खाद्यान्न सामग्री तिल्चेका बाढी प्रभावित परिवारलाई प्रदान गरिएको ७ नं वडाका अध्यक्ष धनबहादुर गुरुङले बताए।

प्रतिपरिवारलाई २५ केजीको  चार बोरा चामल, मैदा २० केजी, तेल एक प्याकेट, मुसुराेको दाल पाँच केजी, चिनी पाँच केजीका दरले सहयोग गरिएको गुरुङले जानकारी दिए।

राहत सहयोगका लागि बेलायतमा माला गुरुङ, बिमला गुरुङ र युके तुम समाजका अध्यक्ष उमरबहादुर गुरुङले पहल गरेमा हुन्। इटलीमा तिलकबहादुर गुरुङ, कोरियाबाट मनाङ परिवार कोरियाका विनराज गुरुङ, मनराज गुरुङ र सुरेश गुरुङ, अमेरिकाबाट कर्मा लामा, अस्ट्रेलियाबाट यमुना गुरुङ तथा काठमाडौंमा निर्मला गुरुङ घलेको पहलमा सहयोग संकलन गरिएको हो।

सुझावित समाचार