इलाममा सामुदायिक कृषि क्याम्पस सञ्चालन हुने भएको छ। इलाम नगरपालिकाको पहलमा सो क्याम्पस सञ्चालन हुने भएको हो। इलाम नगरपालिका– ९ शेरामा निर्माण भएर पनि सञ्चालनमा नआएको बसपार्कको भवनमा कक्षाकोठा तयार पार्न लागिएको छ।
प्रयोगशाला र पुस्तकालय निर्माण भइरहेको सञ्चालक समितिका सचिव ठाकुरनारायण श्रेष्ठले बताए। कृषि प्राविधिक उत्पादन गर्ने उद्देश्यले सामुदायिक कृषि क्याम्पस स्थापना गर्न लागिएको हो।
आठ सेमेस्टरको चारवर्षे कोर्स चार लाख रुपैयाँमा पूरा गर्न सकिनेछ। यो क्याम्पस सञ्चालनमा आएपछि जिल्लाभित्रका मात्र नभई बाहिरी जिल्लाबाट समेत विद्यार्थी आउने अपेक्षा लिइएको छ। पहिलो सेमेस्टरका लागि ४० विद्यार्थी मात्र भर्ना गरिनेछ। चार वर्षपछि पूर्ण रूपमा क्याम्पस सञ्चालन हुँदा एक सय ६० विद्यार्थी हुनेछन्।
विज्ञान विषय लिई प्लस टु उत्तीर्ण गरेका विद्यार्थी, आइएस्सी गरेका, सिटिइभिटीमा कृषि विषय अध्ययन गरेका विद्यार्थीले सामुदायिक क्याम्पसमा बिएस्सी–एजी पढ्न पाउनेछन्। यसै वर्षदेखि भर्ना अभियान सुरु गरिने छ। अब कक्षा १२ को नतिजा प्रकाशित भएपछि क्याम्पसले भर्ना प्रक्रिया सुरु गरेर काम अगाडि बढाउने बताइएको छ।
पूर्वाञ्चल विश्वविद्यालयबाट यसको सम्बन्धन लिइने जनाइएको छ। त्यसको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। दसैँपछि सम्बन्धनको प्रक्रिया टुंगिनेछ । क्याम्पसमा बाली विज्ञान, मत्स्य, पशुविज्ञान र हर्टिकल्चर अध्ययन–अध्यापन गराइनेछ। क्याम्पस स्थापना गर्दाको सबै खर्च इलाम नगरपालिकाले व्यहोर्ने छ। रासस