प्रदेश १ मा दर्ता भएन, विश्वासको मतका लागि प्रस्ताव

शुक्रबार, २२ असोज, २०७८
डिजिटल संस्करण

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विशेष अधिवेशनको ठाउँमा अचानक हिउँदे अधिवेशन बोलाए पनि विश्वासको मतका लागि प्रस्ताव  दर्ता गराएनन्। दसैँपछि कात्तिक ५ तिर मात्र विश्वासको मत लिने भनिएका मुख्यमन्त्री अचार्यले आज शुक्रबार बोलाएको प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो दिन शुभकामना मन्तव्यमै व्यतित गरे। 
 
संसदीय दलको तर्फबाट शुभकामना मन्तव्य सकिएपछि सभामुख प्रदीपकुमार भण्डारीले आइतबारसम्मका लागि संसद्को बैठक स्थगित भएको जानकारी गराए । आज बिहान बसेको नेकपा एमालेको संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीले विश्वासको मत लिन प्रस्ताव दर्ता गराउने निर्णय गरेको थियो। सोहीअनुसार आइतबार प्रस्ताव दर्ता हुनेछ। तर, असोज २६ देखि दसैँ बिदा सुरु हुने भएकोले मुख्यमन्त्री आचार्यले दसैँअघि विश्वासको मत नलिने पक्का भएको छ।

शुक्रबार प्रदेश १ सभाको हिउँदे अधिवेशनको पहिलो दिन विपक्षी दलहरूले मुख्यमन्त्री आचार्यले संविधान उल्लंघन गरेर झन्डा हल्लाउने र नाम लेखाउने रहरमा सत्ता लम्ब्याउने षडयन्त्र गरेको आरोप लगाए। एमाले सांसद हिक्मत कार्कीले आफूहरू नेपालको पहिलो लोकतान्त्रिक पार्टी भएको दाबी गर्दै संविधान उल्लंघन नगर्ने र तोकिएको मितिमा विश्वासको मत लिएरै छाड्ने बताए।

सुझावित समाचार