कञ्चनपुरको बेदकोट नगरपालिका– ९ सुन्दरपुरका जयसिंह धामीको फार्ममा रहेका ६ बाख्रा चितुवाले आक्रमण गरी मारेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट गएराति बस्ती छिरेको चितुवाले फार्ममा रहेका बाख्रा मारेको हो।
व्यावसायिक रूपमा फार्म सञ्चालन गर्दै आएका धामीले चितुवाले बाख्रा मार्दा रु. एक लाख २५ हजारभन्दा बढीको नोक्सानी भएको बताए। ‘बिहानको झिसमिसेमै बाख्रा कराउन थालेपछि फार्ममा पुग्दा १२ मध्ये चितुवाले ६ वटा बाख्रा मारिसकेको थियो,’ उनले भने, ‘चितुवाले गर्दा निकै ठूलो क्षति व्यहोर्नुपरेको छ।’
मारिएका बाख्रामध्ये तीन बाख्रा ब्याउने अवस्थाका थिए। ६ लाख रुपैयाँ लगानी गरी धामीले फार्ममा बंगुर र बाख्रापालन गर्दै आएका छन्। फार्ममा पालिएका २० बंगुर भने सकुशल रहेका छन्।
केही महिनाअघि समेत चितुवाले खोरबाट स्थानीय बासिन्दाका बाख्रा मारेर खाएको थियो। चितुवा बस्तीमै छिर्न थालेपछि यस क्षेत्रका बासिन्दा निकै चिन्तित भएका छन्। रासस