पाकिस्तानबाट बोलाएर अपहरण गरिएका फैजानको परिवारसँग मागियो २० हजार डलर फिरौती

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

क्यानाडा पठाइदिने प्रलोभनमा काठमाडौं बोलाएर परिवारसँग फिरौती माग्ने दुई पाकिस्तानी पक्राउ

२० हजार अमेरिकी डलर फिरौती रकम असुल्न अपहरणकारीले एक पाकिस्तानी नागरिकलाई नेपाल ल्याएको खुलेको छ । अपहरणमा संलग्न अभियुक्त पनि पाकिस्तानी नै हुन् । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार अपहरणमा परेका पकिस्तानी फैजान अहमद हुन् । अपहरणमा संलग्न अभियुक्त भने जेसन मोहम्मद र ताज रिजवान हुन् । जेसन र ताजलाई प्रहरीले ठमेलस्थित होटेलबाट मंगलबार पक्राउ गरेको थियो । अपहरित फैजानले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । 

एसएसपी किरण बज्राचार्य : प्रमुख, महानगरीय प्रहरी परिसर ललितपुर

अपहरणमा परेको भन्दै एक पाकिस्तानी नागरिकले हामीकहाँ जाहेरी दिए । घटनाको अनुसन्धान भयो । जाहेरीमा उल्लेखित घटनालाई पुष्टि गर्ने केही आधारमा पनि भेटिए । हामीले अभियुक्तको खोजी गर्‍यौँ । यसक्रममा दुई पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

आफू अपहरित भएको भन्दै फैजानले सोमबार नै प्रहरी परिसर ललितपुरमा जाहेरी दिएका थिए । लगत्तै अनुसन्धानमा खटिएका प्रहरी टोलीले घटनामा संलग्न भएको अभियोगमा जेसन र ताजलाई ठमेलबाट पक्राउ गरेको थियो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले अपहरणको अभियोगमा दुई पाकिस्तानी नागरिक पक्राउ परेको जानकारी दिइन् । ‘अपहरणमा परेको भन्दै एक पाकिस्तानी नागरिकले हामीकहाँ जाहेरी दिए । घटनाको अनुसन्धान भयो । जाहेरीमा उल्लेखित घटनालाई पुष्टि गर्ने केही आधार पनि भेटिए । हामीले अभियुक्तको खोजी गर्‍यौँ । यसक्रममा दुई पाकिस्तानी नागरिक पक्राउ परेका छन्,’ उनले भनिन् ।

प्रहरीका अनुसार जेसन र ताज तीन साताअघि नेपाल आएका थिए । उनीहरूले धापाखेलस्थित सिभिल होम्सको एक आपार्टमेन्ट भाडामा लिए । क्यानडा पठाइदिने प्रलोभनमा फैजानलाई नेपाल बोलाए । फैजान नेपाल आउन राजी भए । सोहीअनुसार उनी सोमबार जहाजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए । उनलाई रिसिभ गर्न जेसन र ताज विमानस्थलमै थिए । उनीहरूले फैजानलाई रिसिभ गरे । लिएर सीधै धापाखेलस्थित सिभिल होम्सको अपार्टमेन्ट लगे । जबरजस्ती कुर्सीमा राखे अनि हातखुट्टा बाँधे । 

अपहरणकारीको पन्जाबाट फुत्केर प्रहरीमा उजुरी
प्रहरीका अनुसार अपहरणमा संलग्न जेसन र ताजले पाकिस्तानस्थित फैजानको परिवारसँग २० हजार अमेरिकी डलर फिरौती मागेका थिए । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले २० हजार अमेरिकी डलर फिरौती मागिएको अनुसन्धानबाट देखिएको बताए । ‘पाकिस्तानी नागरिक अपहरणमा परेको घटना अनुसन्धान भयो । अपहरणकारीले २० हजार अमेरिकी डलर फिरौती रकम मागेको अहिलेसम्मको अनुसन्धानबाट देखिन्छ । यति रकमका लागि उनीहरूले पाकिस्तानदेखि बोलाएर किन अपहरण गरे ? यसमा को–को संलग्न छन् ? हामीले खोजी रहेका छौँ । अनुसन्धान विस्तृत ढंलले हुँदै छ । सबै तथ्य पछि खुल्दै जानेछन् ।’

प्रहरीका अनुसार अपहरित फैजान मंगलबार अपहरणकारीको पन्जाबाट भाग्न सफल भएका थिए । त्यसलगत्तै उनी जाहेरी बोकेर ललितपुर प्रहरी कार्यालय पुगेका थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घटनास्थलबाट फैजानलाई बाँधिएको डोरी, कुर्सी, मुख छोप्न प्रयोग गरिएका टेप, फिरौती रकम उल्लेख भएका सन्देशसहितका मोबाइललगायत सामग्री बरामद भएको छ । महर्जनले भने, ‘घटनास्थलबाट अपहरणमा प्रयोग गरिएका डोरी, टेप, कुर्सीलगायत सामग्री फेला परेको छ । जसले जाहेरीवालाको अभियोग पुष्टि गर्छ । सोही कारण हामीले घटनालाई चासोपूर्वक अनुसन्धान गरेका हौँ । यसको विस्तृत पाटो अझै खुल्न बाँकी छ ।’

See More On

सुझावित समाचार