चितवन टाइगर्स पहिलोपटक इपिएलको फाइनलमा

बिहिबार, २१ असोज, २०७८
डिजिटल संस्करण

पोखराले जारी इपिएलकै खराब ब्याटिङ गर्दा टोली केवल ६६ रनमै समेटियो, पोखरा १५ ओभरमै अलआउट भयो 

चितवन टाइगर्स पहिलोपटक एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । त्रिवि खेलमैदानमा बुधबार चितवनले पहिलो प्ले अफमा पोखरा राइनोजलाई नौ विकेटले हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

प्ले अफमा हार व्यहोरेको पोखरासमक्ष फाइनलमा पुग्ने अर्को अवसर छ । पोखराले अब भैरहवासँग प्रतिस्पर्धा गर्नेछ । यो खेलको विजेताले उपाधिका लागि चितवनको सामना गर्नेछ । भैरहवाले काठमाडौं किंग्स इलाभेनलाई १६ रनले हराउँदै पोखराविरुद्ध एलिमिनेटर खेलको समीकरण तय गरेको हो । 

पोखरा १५ ओभरमै अलआउट 
इपिएलको पहिलो क्वालिफायर खेलमा पोखराले पहिलो ब्याटिङ गरेको थियो । तर, पोखराले चालू इपिएलकै खराब ब्याटिङ प्रदर्शन गर्दा पूरै टोली केवल ६६ रनमा समेटियो । पोखरा १५ ओभरमै अलआउट भएको थियो ।

प्रत्युत्तरमा निकै सहज तथा प्रतिओभर ४.३९ रन पछ्याएको चितवनले केवल एक विकेट गुमाएर लक्ष्य प्राप्त ग¥यो । चितवनले ७.५ ओभरमा जित निकाल्दा ओपनर मोहमद सेहसादले सर्वाधिक ४८ तथा हरिम अन्सारीले १४ रनको योगदान दिएका थिए । सेहसादले २६ बलमा सात चौका र दुई छक्का प्रहार गरे । यसैगरी, हसिमले २० बलमा समान एक चौका र छक्का प्रहार गरी १४ रन बटुले । 

साहव र सागरको घातक बलिङ
पोखराको ब्याटिङ इनिङ्स कमजोर बनाउन चितवनका मध्यम गतिका बलर सागर ढकाल र साहव आलमले घातक बलिङ गरेका थिए । साहवले चार ओभरमा १४ रन खर्चेर सर्वाधिक चार विकेट लिए भने सागरले ७.६ ओभरमा व्यक्तिगत पहिलो विकेट सुनील धमलाको लिएका थिए । सागरले ९.१, ९.५ र ११.४ ओभरमा निरन्तर विकेट लिँदा पोखरा ५२–७ को दयनीय अवस्थामा पुग्यो । सागरले असेला गुनरत्ने (१), विकेक यादव (२) र विक्रम सोव (२) को विकेट लिएका हुन् । सो इनिङ्समा सागरलाई आलमले निकै साथ दिएका थिए । साहवले पनि चार ओभरमा १० रन खर्चेर चार विकेट लिए । यसै प्रदर्शनका कारण उनी खेलका म्यान अफ दी म्याच भए । साहवले पोखराका कप्तान विनोद भण्डारीलाई पहिलो बलमै आउट गरे । 

नौ ब्याट्सम्यानले दोहोरो अंकको रन नै बनाएनन्
पोखराको ब्याटिङ इनिङ्समा नौ ब्याट्सम्यानले दोहोरो अंकमा रन नै बनाउन सकेनन् । पोखराका कप्तान विनोद र नन्दन यादव गोल्डेन डक भए । दुवै ब्याट्सम्यानलाई साहवले आउट गरेका हुन् । नन्दनलाई साहवले कट एन्ड बोल्ड गरे । पोखराका लागि ओपनर रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाउन १२ बलमा दुई चौका र एक छक्का प्रहार गरे । यसैगरी सुनील धमलाले ३१ बलमा दुई चौकाको सहयोगमा १८ रन बनाए । 

सन्दीप नेतृत्वको काठमाडौंको इपिएल यात्रा सकियो
ओसिलो पिचका कारण खेल रोकिएर मंगलबार भाग्यमानी ठहरिएको काठमाडौं दोस्रो एलिमिनेटर चरणबाटै बाहिरिएको छ । काठमाडौंले तेस्रो स्थानमा रहेको भैरहवासँग प्रतिस्पर्धा गरेको थियो । पहिलो ब्याटिङ गरेको भैरहवाले आठ विकेटको नोक्सानीमा एक सय ८८ रनको मजबुत योगफल खडा गर्यो । प्रत्युत्तरमा काठमाडौंले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन मात्र जोड्न सक्यो । हारसँगै सन्दीप लामिछानेको नेतृत्वमा रहेको काठमाडौंको इपिएलको यात्रा पनि समाप्त भयो । 

चालू इपिएलमै काठमाडौंले विश्व चर्चित पाकिस्तानी पूर्वकप्तान तथा अलराउन्डर सहिद अफ्रिदीलाई आबद्ध गरेको थियो । अफ्रिदीले इपिएलको पहिलो खेलमा साबिक विजेता ललितपुरविरुद्ध प्रतिस्पर्धा गरेका थिए । उनले ललितपुरविरुद्ध चार ओभरमा ३२ रन दिएका थिए । 

एलिमिनेटर चरणमा लक्ष्य पछ्याएको काठमाडौंका लागि असान परियान्जनले सर्वाधिक ६८ रनको योगदान दिएका थिए । उनले ४८ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । काठमाडौंले कुनै पनि विकेटका लागि गतिलो साझेदारी गर्न सकेन । काठमाडौंका भरपर्दा ब्याट्सम्यान रायन बुरल सामना गरेको पहिलो बलमै शून्य रनमा आउट भए । काठमाडौंका लागि राजु रिजालले १० रन तथा जनक प्रकाशले १४ बलमा तीन छक्का र एक चौकाको सहयोगमा २८ रनको योगदान दिए । भैरहवाका लागि धमिका प्रसाद, कुशल मल्ल तथा आरिफ सेखले समान दुई–दुई विकेट हात पारे । 

यसअघिको ब्याटिङमा भैरहवाका लागि कप्तान शरद भेषवाकरले उत्कृष्ट ब्याटिङ गरेका थिए । उनले २० बलमा तीन छक्का र सात चौकाको सहयोगमा ४९ रनको विस्फोटक इनिङ्स खेले । शरद एक रनले अर्धशतकीय इनिङ्स खेल्नबाट चुके । शरद १९.२ ओभरमा आउट भएका हुन् । यसैगरी, प्रदीप ऐरीले २७ बलमा ३९ रन, उपल थरंगाले ३३ बलमा ३५ रन तथा कुशलले २० बलमा ३२ रन बटुले । कुशलले चार छक्का प्रहार गरे । 

See More On

सुझावित समाचार