चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल) को सोमबारको खेलमा काठमाडौं किंग्स इलाभेन डकवर्थ लेविस नियमअनुसार पोखरा राइनोजसँग १४ रनले पराजित भएको छ । यो हारसँगै काठमाडौंको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ ।रोमाञ्चक जितसँगै पोखरा प्ले अफमापुगेको छ । काठमाडौं दुई अंकका साथ लिगको पाँचौँ स्थानमा छ । लिगमा अब काठमाडौंले भैरहवा ग्लाडिएट्सविरुद्ध खेल्नेछ । यही खेलले इपिएलको चौथो प्ले अफ टोलीको निर्धारण हुनेछ ।
लिगमा चितवन, पोखरा, ललितपुर तथा विराटनगर वारियर्सले आ–आफ्ना पाँचै खेल खेलिसकेका छन् । विराटनगर लगातार चार खेलमा पराजित हुँदै लिग चरणबाट बाहिरिएको थियो । शीर्ष स्थानमा रहेको चितवनले सर्वाधिक आठ, तेस्रो स्थानको भैरहवाले ६ तथा चौथो स्थानमा रहेको साविक विजेता ललितपुरले तीन अंक बटुलेका छन् । काठमाडौं र भैरहवाबीच मंगलबार लिगकै अन्तिम खेल हुनेछ ।
यदि भैरहवासँग काठमाडौं पराजित हुँदा ललितपुर चौथो टोलीका रूपमा प्ले अफमा पुग्नेछ । भैरहवालाई हराउँदा काठमाडौंले चार अंकका साथ प्ले अफको स्थान बनाउनेछ । यो समीकरणमा ललितपुर लिग चरणबाटै बाहिरिनेछ । यहीकारण काठमाडौंको नजरमा भैरहवाविरुद्धको खेल गर या मरको अवस्थामा छ । भैरहवासमक्ष दोस्रो स्थान उक्लने अवसर पनि यही खेलले निर्धारण गर्नेछ । भैरहवाले जित निकाल्दा दोस्रो र पराजित हुँदा तेस्रो स्थानमा रहनेछ । गत साता काठमाडौं र पोखराबीचको खेल वर्षाका कारण स्थगित भएको थियो । यो लिगको छैटौँ खेल थियो । नयाँ तालिकाअनुसार सोमबार पोखरा र भैरहवाबीच खेल भएको हो ।
यसकारण डक वर्थ लेविस
त्रिवि खेल मैदानमा पहिलो ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा आठ विकेटको नोक्सानीमा एक सय ८२ रनको बलियो योगफल बनाएको थियो । लक्ष्य पछ्याउँदा पोखराले १५ ओभरमा पाँच विकेट गुमाएर एक सय ४२ रन जोड्यो । इनिङ्सको १५औँ ओभरमा भारी वर्षासँगै खेल रोकियो । पुनः खेल सञ्चालन हुन नसक्ने अवस्थामा पुगेपछि अम्पायरले डक वर्थ लेविसअनुसार पोखरालाई विजयी गराए ।
वर्षाले अवरुद्ध हुनुअघि पोखरालाई जितका लागि ३० बलमा ४१ रन आवश्यकता थियो । क्रिजमा युवा ब्याट्सम्यान विकेट यादव ४१ रन तथा लोकेश बम १८ रनमा अविजित थिए । विवेकले २८ बलमा चार चौका र दुई छक्का प्रहार गरे । लोकेशले आठ बलमा तीन चौका ठोकेका थिए । यी दुवै ब्याट्सम्यानले छैटौँ विकेटका लागि महत्वपूर्ण २९ रनको साझेदारी गरे । पोखराको ब्याटिङ इनिङ्समा साहन अचाछिगेले सर्वाधिक ४३ रनको योगदान दिए । उनले २३ बलमा चार चौका र तीन छक्का प्रहार गरे ।
यसअघि पहिलो ब्याटिङ गरेको काठमाडौंले अमित श्रेष्ठ र रायन बुरलले शतकीय साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा राखे । इनिङ्सको २.१ ओभरमा काठमाडौंले दुवै ओपनर गुमाउँदा स्कोरबोर्डमा १६ रन मात्र जोडेको थियो ।