नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशन स्थगित भएको छ । आज सोमबारका लागि तय भएको जिल्ला अधिवेशन निर्वाचन अधिकृत हसिना प्रधानको समय व्यवस्थापन हुन नसक्दा स्थगित गरिएको वर्तमान पार्टी सभापति दीपबहादुर शाहीले बताए ।
उनले भने, ‘आगामी कार्तिक ३ गते गर्ने गरी जिल्ला अधिवेशन तोकेका छौँ । तर, यसमा केन्द्रको निर्णयअनुसार १/२ दिन अघिपछि पनि हुन सक्छ ।’
जिल्लामा वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको छ । दुईवटा पालिकामा निर्वाचन भए पनि अधिकांश वडामा सर्वसहमतिमै नेतृत्व चयन भएको उनले जानकारी दिए । जिल्लाको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकामा निर्वाचन प्रर्णालीमार्फत नेतृत्व चयन भएको हो ।
८ स्थानीय तहमध्ये सिंजा र गुठीचौर गाउँपालिकामा देउवा पक्षले पालिका सभापति पाएको छ । चन्दननाथ, हिमा, तिला, कनकासुन्दरी, पातारासी, तातोपानी र तिलामा पौडेल समूहले नै पालिका सभापति प्राप्त गरेको हो ।