नेपाली कांग्रेस हुम्ला विभाजनउन्मुख देखिएको छ । नेपाली कांग्रेसको तर्फबाट कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार नेता जीवन शाहीले आफ्नै गृहजिल्ला हुम्लामा पार्टीलाई विभाजनउन्मुख पुर्याएको टिप्पणी हुन थालेको छ ।
प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ मा असोज १३ गते उद्घाटन सत्र सम्पन्न भयो । प्रदेश सभा ‘क’ क्षेत्रमा पौडेल पक्षले लोकेन्द्र भण्डारी, देउवा पक्षले मानदेव शाहीको नाममा समिति गठन गर्यो । यस्तै प्रदेश ‘ख’मा पौडेल पक्षबाट धनजित भण्डारी र देउवा पक्षका टर्सी लामा निर्वाचित भएका थिए ।
यस्तै, जिल्ला सभापतिको निर्वाचनमा पनि गुटगत प्रभाव परेको छ । आइतबार सम्पन्न भएका गुटगत भेलामा पौडेल पक्षबाट रामबहादुर भण्डारी र देउवा पक्षले मोहनसिंहलाई चयन गरेको छ । तर, यी दुवै पक्षबीच विभाजन हुँदा कांग्रेस हुम्ला विभाजनउन्मुख देखिएको संविधानसभा सदस्य रिता शाही बताउँछिन् ।
कांग्रेस नेता जीवन शाहीले आफ्नै छोरा मात्रै होइन, स्वकीय सचिवलाई समेत जिम्मेवारी दिलाएका छन् । उनका छोरा भरत शाहीलाई ‘ख’ प्रदेशका उपसभापति बनाएका छन् भने जीवन शाहीका स्वकीय सचिव राजबहादुर रोकाया र चन्द रावल प्रतिनिधि बनाएका छन् ।
यससँगै जीवन शाहीले बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत उनकी भाइबुहारी मधु शाहीलाई महाधिवेशन प्रतिनिधि बनाएका छन् । सीता माध्यमिक विद्यालयमा कार्यरत प्रधानाध्यापक जुनराज हमाललाई पनि प्रतिनिधि बनाएका छन् । हमाल जीवन शाहीका मामाका छोरा हुन् । शक्तिको दुरुपयोग गर्दै हुम्लामा शाहीले एकलौटी निर्वाचन गर्न लगाएको कांग्रेस कार्यकर्ताको गुनासो छ । ‘उहाँले तानाशाही प्रवृत्ति प्रकट गर्नुभयो । त्यो गलत छ,’ लोकेन्द्र भण्डारीले भने, ‘यसको हिसाब उहाँले आगामी चुनावमा चुकाउनुहुनेछ ।’ तर, रिता शाहीले भने आफूहरू पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन खोजिरहेको बताइन् ।