पोखरामा जारी राष्ट्रिय ए डिभिजन लिग फुटसल प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा घरेलु टोली सविन मेमोरियलका अभिनाश तामाङले दोहोरो ह्याट्रिक गरेका छन् । लिगमा एकै खेलमा दोहोरो ह्याट्रिक गर्ने उनी पहिलो खेलाडी हुन् । साथै उनले आफूलाई लिगको सर्वाधिक गोलकर्ताको सूचीमा पनि राखेका छन् । उनले ८ खेलमा १८ गोल गरेका छन् ।
पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्ड हलमा आइतबार भएको पहिलो खेलमा सविनले प्रभातफेरी युथ क्लबलाई ८–४ गोलअन्तरले पाखा लगायो । जितसँगै सविनको १३ र प्रभातफेरीको सात अंक रहेको छ । सविनको प्ले अफमा पुग्ने सम्भावना बढेर गएको छ ।
खेलको पाँचौँ मिनेटमा सविनका लागि अभिनाशले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । प्रभातफेरीका लागि खेलको छैटौँ मिनेटमा एक्लेस कार्की र ११औँ मिनेटमा डोना थापाले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि खेलको १२औँ मिनेटमा सविनका अभिनाशले दुई गोल गर्दै पहिलो ह्याट्रिक पूरा गरे । १८औँ मिनेटमा प्रभातफेरीका कप्तान नविन लामाले गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए ।
खेलको २२, २३ र ३०औँ मिनेटमा गोल गर्दै म्यान अफ दी म्याचसमेत रहेका अभिनाशले दोस्रो ह्याट्रिक पूरा गरे । खेलको ३१औँ मिनेटमा सविनका मनोज गुरुङले गोल गरेका थिए । यसैगरी, प्रभातफेरीका लागि खेलको ३९औँ मिनेटमा डोना थापा र ४०औँ मिनेटमा मनोजले गोल गरेका थिए ।