कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरको सजावट, लिपतोत र सरसफाइको काम नेपाली सेनाले गरेको छ । पछि चन्दननाथ गुठी व्यवस्था समितिको पदाधिकारीलाई हाइसञ्चो भएको छ । दसैँ, तिहारलगायतका चाडपर्व नजिकिँदै गर्दा मन्दिरको सजावटमा सेना जुटेको हो ।
टाढाटाढादेखि भक्तालुहरू आउने भएकोले मन्दिर सजाउने काम थालिएको चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष पूर्णसिंह कठायतले बताए । ‘मन्दिरको सजावट र सरसफाइ सेनाले गर्दै आएको छ । यसले मन्दिरको शोभा बढेको छ,’ उनले भने ।
हरेक महिनाको पहिलो सोमबार मन्दिरको सरसफाइ हुने गरेको छ । मन्दिरलाई गाह्रो पर्दा सेनाले सघाउँदै आएको छ । सेनाको नन्दाबक्स गण र २४ नम्बर बाहिनी अड्डा जुम्लाबाट सरसफाइमा यहाँ सेना आउने गर्छन् । नन्दाबक्स गणका उपसेनानी सन्तोष केसी पछिल्लो समयमा नेपाली सेना धार्मिक पर्यटन प्रवर्द्धनमा जुटेको बताउँछन्। उनले भने, ‘मन्दिर यहाँको पहिचान हो । मन्दिरको शोभा बचाइराख्नु पनि दायित्व हो। त्यो दायित्व नेपाली सेनाले पूरा गर्ने प्रयास गरेको हो।’
मन्दिरको सजावटमा सेनाका १३ जना परिचालित भएका छन्। यसअघि फूलका गमला राख्नेदेखि मन्दिर आसपासको क्षेत्र सफा गर्ने काम पनि सेनाले गरेको थियो। मन्दिरमा बस्ने पुजारी र अन्य कर्मचारीलाई सहज होस् भनेर सेनाले आवश्यक खाद्यान्नसमेत दिने गरेको छ । सेनाले चामल ३० केजी, दाल ५ केजी, तेल पाँच लिटर, चिनी ५ केजी, चियापत्ती २ केजी, मरमसला र बिस्केट मन्दिरमा दिँदै आएको छ ।