धनकुटाका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना

आइतबार, १७ असोज, २०७८
डिजिटल संस्करण

चाडपर्वको समयमा यात्रुको सहजताका लागि धनकुटाका तीन स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यात्रुहरूलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन सहयोग गर्ने उद्देश्यले आइतबार भेडेटार, धनकुटा बसपार्क र हिले बजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायले जानकारी दिए । सहायता कक्षको उद्घाटन गर्दै डिएसपी रायले चाडबाडको समयमा यात्रुहरूको चाप बढी हुने भएकाले यात्रुहरूलाई सहज ढंगले गन्तव्य स्थलसम्म पुर्याउनका लागि यात्रु सहायता कक्षको स्थापना गरिएको बताए ।

उनले चाडाबाडको समयमा यात्रुहरूले चालकहरूबाट भाडामा ठगिएको गुनासो गर्ने गरेको उल्लेख गर्दै त्यसको न्यूनीकरण गर्न पनि सहायता कक्षले सहयोग पुग्ने बताए । सहायता कक्षमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रहनेछन् । 

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सई सुरेन्द्र खड्काले यात्राको क्रममा कुनै पनि सवारीसाधनबाट ठगिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरे ।

धनकुटा हुँदै पूर्वी पहाडी जिल्ला तेह्रथुम, भोजपुर र संखुवासभातर्फ दैनिक एक हजारभन्दा बढी साना–ठूला सवारीसाधनहरू सञ्चालन हुने गरेका छन् ।

सुझावित समाचार