जुम्लाको दुवै प्रदेश निर्वाचन क्षेत्रमा पौडेल समूहको वर्चश्व

आइतबार, १७ असोज, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेस जुम्लाले वडा, पालिका र प्रदेश तहका अधिवेशन सम्पन्न गरेको छ। वडा तहमा सहमतिमै नेतृत्व चयन गरे पनि पालिका र प्रदेश तहमा भने निर्वाचन प्रणालीबाटै नेतृत्व चयन गरेको हो।

गाउँ तथा नगरपालिकामा विजयी हुँदै आएको पौडेल समूहले प्रदेश तहमा पनि वर्चश्व कायम गरेको छ। प्रदेश ‘क’ र ‘ख’को निर्वाचनमा पौडेल पक्षको प्यानल नै विजयी भएको छ।

प्रदेश ‘क’ को सभापतिमा लक्षिमन बोहोरा २ सय ४९ मत ल्याएर विजयी भएका छन्। कुल चार सय ९८ मत खसेकोमा उनका प्रतिस्पर्धी विष्णुबहादुर शाहीले २ सय ३१ मत ल्याए। त्यस्तै, पौडेल पक्षबाटै उपसभापति निर्वाचित रूपबहादुर रोकायले २ सय ७९ र तिलकप्रसाद न्यौपानेले २ सय ५० मत प्राप्त गरेका छन्।

त्यस्तै, प्रदेश ‘ख’ को सभापतिमा पनि पौडेल समूहका कालीबहादुर बुढा निर्वाचित भएका छन्। बुढाले कुल चार सय ९० मतमध्ये २ सय ४२ मत प्राप्त गरेकाे सहायक मतदान अधिकृत खगेश्वर आचार्यले जानकारी दिए। उनका प्रतिस्पर्धी देउवा पक्षधरका भीमनिधि हमालले एक सय ९९ मत ल्याएका छन्।

त्यस्तै, उपसभापति दानसिंह खत्रीले २ सय ६६ र कालीबहादुर बुढाले २ सय ५४ मत ल्याएर विजयी भएको सहायक मतदान अधिकृत आचार्यले जनाए। २३ सदस्यीय प्रदेश क्षेत्रीय कार्यसमितिमा जुम्ला प्रदेश ‘क’ र ‘ख’ दुवैमा पौडेल पक्षले देउवा पक्षलाई किनारा लगाएको छ।

त्यसैगरी, १६ प्रदेश क्षेत्रीय प्रतिनिधिमा पनि सबै पौडेल पक्षका उम्मेदवार विजयी भएका छन्। प्रदेश ‘क’ र ‘ख’ मा पौडेल पक्षको जितसँगै देउवा पक्षलाई जुम्लामा निकै ठूलो झट्का लागेको छ।

जिल्ला सभापतिमा पनि पौडेल समूहकै निर्वाचित हुने नेताहरूले दाबी गर्दै आएका छन्। पौडेल समूहबाट जिल्ला सभापतिमा एकजना आकांक्षी देखिएका छन् भने देउवा समूहबाट पाँचजना आकांक्षी छन्।

सुझावित समाचार