नेपाल मार्केटिङ एसोसिएसन स्थापना गरिएको छ। बजार व्यवस्थापन विषयको गहन छलफल र रोजगारीको सुनिश्चिततामा ध्यान दिने उद्देश्यले उक्त संस्था स्थापनाको प्रयास गरिएको हो।
यही क्षेत्रमा प्राध्यापन गरिरहेका र व्यवसायीहरूले चार्टर्ड मार्केटर प्रा.डा. तुल्सी धरेलको प्रमुख आतिथ्यतामा यस विषयमा छलफल गरेका हुन्। भेलामा डा. गोपाल थापाको नेतृत्वमा टोली गठन प्रक्रिया र कार्ययोजनाबारे आफ्ना भनाइ राखेका थिए। कार्यक्रममा प्रा.डा. धरेलले क्यानडामा बसे पनि आफ्नो जन्मभूमिमा केही गर्ने चाहना भएकोले साथीहरूलाई एकजुट गराएर यो कार्यक्रमको थालनी गरेको बताए।
कार्यक्रममा डा. थापा र सुशील अवालेले अवधारणापत्र प्रस्तुत गरेका थिए। डा. थापाको संयोजकत्वमा गठित समितिमा उद्योगबाट सन्तोष श्रेष्ठ, सुजन राजा श्रेष्ठ, सिए हरि सिलवाल, राजेन्द्र महर्जन, पुष्कर शर्मा, मनीषा लुइँटेल र सूर्य थापा छन् भने शिक्षा क्षेत्रबाट सुशील अवाले, सुरेन्द्र थापा, सत्येन्द्र उप्रेती, श्यामकुमार थापा र नुश्रत जहान छन्।
प्रा.डा. धरेल क्यानेडियन मार्केटिङ एसोसिएसनका सदस्य हुन्। उनले क्यानडामा रहेर मार्केटिङ प्राध्यापन गरिरहेका छन्। भेलामा प्रा.डा. धरेलले विश्वमा देखिएका मार्केटिङका आयामहरूबारे भनाइ राखेका थिए।