मृत्यु भएका व्यक्तिको नाममा भत्ता लिने ५ कर्मचारीविरुद्ध अख्तियारको मुद्दा

बुधबार, १३ असोज, २०७८
डिजिटल संस्करण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मरिसकेका व्यक्तिको नाममा भत्ता लिने ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । आयोगले मंगलबार उनीहरूविरुद्ध मुद्दा दर्ता गरेको हो । 

उदयपुर जिल्ला, साबिक रामपुर ठोक्सिला गाउँ विकास समितिका तत्कालीन गाविस सचिव केशवप्रसाद आचार्यसमेत ५ जनाविरुद्ध मुद्दा चलाएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए । अख्तियारले आचार्यसहित तत्कालीन गाविस सचिवहरू खरिदार लोकेन्द्र कार्की, खरिदार विशाल सुन्दास,तत्कालीन नायब सुब्बा माधवप्रसाद खतिवडा र शाखा अधिकृत पुष्पराज सिग्देलविरुद्ध मुद्दा चलाएको जनाएको छ । 

अख्तियारका अनुसार तत्कालीन समयमा रामपुर ठोक्सिला गाविसका कर्मचारीहरूले १० वर्षअगाडि नै मृत्यु भइसकेका व्यक्तिको दोहोरो नाममा र बनावटी नाममा सामाजिक सुरक्षा भत्ताबापतको रकम निकासा गरी दुरुपयोग गर्ने गरेको पाइएको थियो । 

उनीहरूले आर्थिक वर्ष ०६३ र ०६४ देखि आर्थिक वर्ष ०७१ र ०७२ सम्म सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न मृत्यु दर्ता भएपछिको अवधिमा समेत सोह्र लाख चालिस हजार पाँच सय रुपैयाँ हिमामिना गरेको देखिन आएको आएको थियो।
 

सुझावित समाचार