कामप्रतिको धारणा बदलौँ

मानिस रोजगार भए पनि नभए पनि उसको मानवीय महत्व उही हुन्छ भन्ने धारणा सुन्दा सामान्य लागे पनि यसको व्यावहारिक पक्ष युगान्तकारी छ

सोमबार, ११ असोज, २०७८
डिजिटल संस्करण

१२ वर्षअघि मेरी मित्र प्याट्रिसिया नोरडिन एक महत्वाकांक्षी अध्यापक थिइन् । युनिभर्सिटी अफ सिकागोमा पढाउने नोरडिन देशका विभिन्न सभासम्मेलनमा वक्ताको रूपमा सहभागी हुन्थिन् । उनको जीवन कक्षाकोठा, अनुसन्धान र क्याम्पसका क्याफेमा बित्थ्यो । त्यस समय उनलाई आफ्नो राजनीतिक सिद्धान्तको विषय मानवीय स्वभाव र सरकारसँग जोडिएको लामो बहसजस्तो लाग्थ्यो । उनी आफ्नो काममा रमेकी थिइन् र त्यही कामले नै उनको बसोवास र मित्रहरू तय गरेको थियो । 

तर, उनी एक गम्भीर रोगले थला परिन्, जसका कारणले उनले बाँचिरहेको दैनिकी बदलिन थाल्यो । सुरुमा उनलाई माइग्रेनले सताउन थाल्यो, जसले गर्दा उनलाई लेखपढ गर्नसमेत गाह्रो हुन थाल्यो । बिस्तारै हिँडडुलसमेत गर्न नसक्ने भएपछि उनी आफन्तमाथि निर्भर हुनुपर्ने अवस्था आयो । तीन वर्षदेखि उनलाई पटक–पटक प्यारालाइसिस भयो । उपचारका क्रममा उनलाई एहलर्स–ड्यान्लोस् सिन्ड्रोम नामक एक रोग भएको पाइयो । वंशानुगत यो रोगले बिरामीका कैयौँ तन्तुलाई कमजोर बनाउने गर्छ । 

त्यसपछि मेरी साथीलाई आफ्नो कामबाट बनेको पहिचानलाई त्यागेर नयाँ परिचय खोजी गर्नुपर्ने भयो । उनले चित्र बनाउने र इन्स्टाग्राममा पोस्ट गर्न थालिन् । यसक्रममा उनका नयाँ साथी बन्न थाले, जसमध्ये केहीसँग उनको सहकार्य पनि सुरु भएको छ । सहकार्यले उनलाई आफ्नो नयाँ रुचिलाई अगाडि बढाउन प्रेरित गर्छ । साथै, उनमा आफू समाजको एउटा हिस्सा हुँ भन्ने भावना विकास गराएको । चित्रकलाले उनलाई प्राज्ञिक क्षेत्रले जस्तो सन्तुष्टि त दिँदैन, तथापि उनको यो परिवर्तनले हामीलाई पनि एउटा ज्ञान दिन्छ । ढिलो–चाँडो सबैले ‘हामी काम गर्न मात्र जन्मिएका होइनौँ भनेर’ आफैँ र अरूलाई प्रमाणित गर्ने प्रयास गर्नुपर्ने समय आउँछ ।

करोडौँ मानिस पुनः भौतिक रूपमा कार्यालयमै फर्किन लागेको समयमा यो सत्यबारे थप व्याख्या आवश्यकता पर्छ । कामप्रतिको परम्परागत शैलीले व्यापक असन्तुष्टि निम्त्याउँछ । महामारीअघि धेरै मानिसहरू अत्यधिक कामले गल्थे । अब कार्यालयहरू भौतिक उपस्थितिसहित सुचारु भएपछि त्यो अवस्था आउन नदिनेतर्फ पुनर्विचार गर्नुपर्छ । अर्थात्, भविष्यमा कामलाई कसरी सुन्दर जीवनसँग जोड्ने भनेर पुनः कल्पना गर्ने वेला यही हो । सताब्दियौँदेखि व्यवसायी तथा राजनीतिक नेताहरूले जीवनको सबैभन्दा ठूलो आदर्श कामलाई बताउँदै आएका छन् । तर, यथार्थ भने त्यस्तो छैन ।

हामीजस्तो यो दृष्टिकोणसँग असहमत हुने र त्योभन्दा उन्नत विचार सम्भव छ भनेर विश्वास गर्नेहरू भने काम गरे पनि नगरे पनि मानिससँग सम्मानलायक हुन्छ भन्छौँ । तपाईंसँग काम भए पनि नभए पनि तपाईंको मानवीय महत्व उही हुन्छ । हेर्दा सामान्य लाग्ने यो विचार युगान्तकारी छ । यसले हाल पश्चिमी वामपन्थीमाझ चर्चा रहेको ‘युनिभर्सल बेसिक इनकम’, आवास तथा स्वास्थ्यसेवाको अधिकारलाई पनि सही ठहर्याउँछ ।

यसले बेरोजगारीलाई मात्र होइन, अवकाश, अपांगता र स्याहार सेवालाई पनि असामान्य देखाउँदैन । तर, अमेरिकामा अझै पनि आय हुने गरी काम गर्ने मानिसको मात्र महत्व हुने आममान्यता छ । तर, महामारीले यो धारणा कति धेरै गलत छ भन्ने देखाइदियो । महामारीमा रातारात करोडौँ मानिस बेरोजगार भए । तर, काम गुमाउँदैमा तिनले आत्मसम्मान गुमाएनन् । अमेरिकी कंग्रेसले पनि यो तथ्य स्विकार्यो ।

अबका दिनमा मानिसमाथि कामको नकारात्मक असर पर्न नदिन हामीले काम गर्ने घन्टामा थप कठोर नियन्त्रण लागू गर्नुपर्छ । कामको समय कम भएसँगै फुर्सद बढ्नुपर्छ । मुख्यतः काम जीवनभन्दा ठूलो होइन भन्ने भावना विकास गर्नुपर्छ ।

कंग्रेसले अभूतपूर्व रूपमा बेरोजगारी अनुदान दियो र केहीलाई त काम नै नगरी जीविकोपार्जन हुने ज्याला दियो । हामीहरू सबैको महत्व रहेको र हामी सबै नाजुक भएको स्विकार्ने नयाँ विचारले श्रमिकहरूलाई पनि करुणाको नजरले हेर्छ । इयल प्रेसले आफ्नो नयाँ पुस्तक ‘डर्टी वर्क’मा जेल, मासु व्यापार र तेल क्षेत्रमा काम गर्ने मानिसलाई कामले असर गर्ने र कैयौँ ‘पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर’ नामको मानसिक आघात पर्ने लेखेका छन् । यो यथार्थले पनि सबै कामले मानिसको भलो हुन्छ भन्ने भनाइलाई चुनौती दिन्छ । 

आधुनिक कार्यशैलीको आलोचक माक्र्सवादी नारीवादी राजनीतिक दार्शनिक क्याथी विक्स यो शैलीले ‘लाचार दासी सिर्जना गर्ने’ आरोप लगाउँछिन् । सन् २०११ मा प्रकाशित उनको पुस्तक ‘द प्रोब्लेम विद वर्क’मा उनले हालको काम गर्ने तरिकाले काम गर्नेलाई तिनको मालिक, सहकर्मी, उपभोक्ताले चाहेजस्तो बन्नुपर्ने दबाब महसुस गराउने लेखेकी छन् ।

जब त्यो दबाबले हाम्रो मानवीय आवश्यकतालाई टकराव दिन्छ, तब निराशा र थकान भाव उत्पन्न हुन्छ । मानिसमाथि कामको नकारात्मक असर पर्न नदिन हामीले काम गर्ने घन्टामा थप कठोर नियन्त्रण लागू गर्नुपर्छ । डा. विक्सले ज्याला नघटाई दैनिक कामको समय ६ घन्टा कार्यान्वयन गर्नुपर्ने तर्क गरेकी छन् । थोरै कामसँगै धेरै फुसर्द हुनुपर्छ । फुसर्दको समय हामी आफूलाई दिने समय हो । प्याट्रिसियालाई कलाकारितामा बिताएको समय ‘ध्यान’ गरेझैँ लाग्छ । चित्र बनाउँदाको एकाग्रले प्याट्रिसिया उनको रोगको पीडासमेत भुल्छिन् । 

मानिसले आयका लागि गर्ने काममा पनि अर्थ नभेट्ने भन्ने होइन, तर व्यावसायिक मानिसहरू भने यो तथ्यलाई बढाएर जीवनको अर्थ नै काममा पाइने जोड दिन्छन् । तिनलाई भन्न सजिलो छ, तर तिनका अधिकांश कामदारले के गर्छन् भनेर हे¥यौँ भने तिनको यथार्थ उजागर हुन्छ ? आजकल कार्यालयमा अधिकांश मानिस दिनभर अर्थहीन इमेल हेरेर बस्नुपर्छ । जीवनको अर्थ यसमा कहाँ भेटिन्छ ? तर, प्याट्रिसिया बिरामी हुनुअघि आफ्नो काममा अर्थ भेटेजस्तै कैयौँ पनि छन् । तर, उनैको उदाहरणमा पनि जीवनको दुर्भाग्यले उनले सधैँ त्यो काम गर्न सकिनन् ।

बिरामीका अतिरिक्त अन्य विभिन्न कारणले पनि मानिसले आफूले मन परेको काम गरिरहन सक्दैन । त्यसकारणले पनि हामीले कामभन्दा अन्यत्र अर्थ खोज्नुपर्छ र कामलाई त्यसको वरपर मिलाउने काम गर्ने प्रयास गर्नुपर्छ । हामी सबैमा असाधारण क्षमता हुन्छ । हेनरी डेभिड थोरोले यसलाई विशिष्ट ‘प्रतिभा’ भनेका छन् । हाम्रो प्रतिभालाई यथार्थमा रूपान्तण गर्ने क्रममा जीवन अहिलेको निद्रापूर्ण अवस्थाबाट माथि उठ्ने थोरोको विचार छ । त्यसैले फुसर्दमा गरिने काम यस्तो हुनुपर्छ, जसले हामीलाई समय बितेको पत्तो नहोस् । यस्तो काममा लागेको समय खर्च भएको नभई समृद्ध बनाउने थोरो बताएका छन् । बरु उनले श्रममा प्रयोग हुने समय खर्च भइरहेको हुने बताएका छन् । नयाँ कार्यशैलीका लागि सम्मान, करुणा र फुर्सद मानवीय मूल्यका मुख्य आधारस्तभ्म हुनुपर्छ । 

यसले कामलाई समाज सञ्चालनको अत्यावश्यक रहेको स्विकार्छ, तर सँगसँगै कैयौँ श्रमिकको व्यक्तिगत प्रगतिमा अवरोध पुर्याउँछ भन्ने पनि मान्छ । यो विचारको मुख्य जोड कामलाई जीवनको एक हिस्सा बनाउने हो । ‘कामको शासनबाट मुक्त नभएसम्म मानिसले पूर्ण जीवन बाँच्न सक्दैन,’ डा. विक्सले बताइन् । यसले नयाँ आधारस्तम्भको माग गर्छ : एकताको भाव अर्थात् तपाईंको भलाइ र मेरो भलाइ जोडिएको छ भन्ने स्वीकारोक्ति । महामारीको समयमा सबैले उत्पादनशीलभन्दा मानवीय कल्याण महत्वपूर्ण रहेको मान्यौँ । रोगविरुद्धको संघर्षमा हामीले एक–अर्का र स्वास्थ्यकर्मीप्रति ऐक्यबद्धता देखायौँ । भाइरस अरूमा नपुगोस् भन्नेका लागि विभिन्न सुरक्षात्मक कदम अपनायौँ । अब महामारी कम हुँदै गएर कार्यालय फर्किन लाग्दा यी गुणलाई अझै अभ्यासमा लगाउन सक्छौँ ।

धार्मिक अध्ययनमा पिएचडी गरेका म्यालेसिक पूर्वप्राज्ञ र हाल लेखक हुन् । उनको ‘इन्ड अफ वर्नआउट’ पुस्तक बजारमा आउँदै छ । यो लेख सोही पुस्तकबाट लिइएको हो ।

सुझावित समाचार