काठमाडौंबाट छैटौँ ओभरमा बलिङ गर्न गएका सहिद अफ्रिदीले व्यक्तिगत पहिलो ओभरमै छक्काको सामना गरे, लक्ष्य पछ्याएको इनिङ्समा पनि उनले ब्याटिङको अवसर नै पाएनन्
आजको खेल
पहिलो खेलमा विराटनगर वारियर्स र चितवन टाइगर्स (बिहान ९:३० बजे)
दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र पोखरा राइनोज (दिउँसो १३:३० बजे)
काठमाडौं किंग्स इलाभेनले शनिबारदेखि सुरु भएको चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)मा साबिक विजेता ललितपुर प्याट्रियट्र्सलाई सात विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको ललितपुरले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५७ रनको योगफल बनाएको थियो । लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा तीन विकेटको क्षतिमा एक सय ६० रन जोड्दै जित हात पारेको हो ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको सुरुवात अति नै कमजोर रह्यो । इनिङ्सको १.२ ओभरमा काठमाडौंले दुई विकेट गुमायो । ओपनर सुभाष खकुरेल शून्य र अमित श्रेष्ठ चार रनमा रनआउट भएका थिए । त्यसपछि अफगानी ब्याट्सम्यान रहमानुल्लाह गर्बज र जिम्बावेका रायन बुरलले तेस्रो विकेटका लागि १.२ देखि १०.१ ओभरसम्म विस्फोटक ब्याटिङ गर्दै ७६ रनको साझेदारी गर्दै जितको आधार बनाएका थिए ।
पवन सर्राफको ओभरमा छक्का प्रहार गर्ने चक्कर विकेटकिपर विराकोडीले स्टम्पिङ गरे । त्यसपछि रायन र राजु रिजालबीच चौथो विकेटका लागि ७२ रनको साझेदारी हुँदा काठमाडौंले ३४ बलअघि नै जित निकालेको थियो । रहमानुल्लाहले ३६ बलमा समान चार चौका र चार छक्का प्रहार गरी ५९ रनको योगदान दिए । म्यान अफ दी म्याच रायनले ३४ बलमा सात छक्का र तीन चौकाको सहयोगमा ७३ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहे ।
यसअघि ललितपुरका लागि पवनले ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । इनिङ्सकै पहिलो बलमा कप्तान कुशल भुर्तेल शून्य रनमा आउट भए । कमजोर ब्याटिङ प्रदर्शन गरेको ललितपुरका पवन, योगेन्द्रसिंह कार्की र शंकर रानाले मात्र गतिलो योगदान दिए । पवनले ४४ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । योगेन्द्रसिंह कार्कीले ३३ रन जोड्दा २० बलमा तीन छक्का प्रहार गरे । भुटानी खेलाडी मिक्यो दोर्जीले अविजित १७ रन र नारायण जोशीले १२ रन बनाए ।
काठमाडौंका जितेन्द्र मुखियाले चार विकेट लिए । रायन बुरल र गुलसन झाले दुई–दुई विकेट लिए । काठमाडौंका कप्तान लामिछाने र सहिद अफ्रिदीले विकेट लिन सकेनन् । यस जितसँगै काठमाडौंले पहिलो खेलमा २ अंक जोडेको छ ।
अफ्रिदीको ब्याटिङको पालो नै आएन
.jpg'_'.2021-09-26.jpg)
दोस्रो इनिङ्समा काठमाडौंले लक्ष्य पछ्याएको थियो । पहिलो इनिङ्सजस्तै दर्शकले दोस्रो इनिङ्समा पनि एकजना खेलाडीको खुबै प्रतीक्षा गरेका थिए । काठमाडौंमा आबद्ध विश्व क्रिकेटका अलराउन्डर पाकिस्तानी पूर्वकप्तान सहिद अफ्रिदी सबैको प्रतीक्षामा थिए । प्रतिओभर आठ रननजिक रहेको लक्ष्य पार गर्दा अफ्रिदीले पनि ब्याटिङ गर्ने धेरैको विश्वास थियो ।
काठमाडौंका ओपनर सुवास खकुरेल र अमित श्रेष्ठ केवल तीन बलको अन्तरमा आउट हुँदा पेभेलियनबाट अब अफ्रिदी ब्याट्सम्यानका रूपमा आउलान् भन्ने धेरैको कल्पना थियो । बलिङमा खासै चामत्कारिक प्रदर्शन गर्न नसकेका अफ्रिदीले पक्कै पनि आफ्नो विस्फोटक ब्याटिङ शैलीमा चौका र छक्का प्रहार गरेको दृश्य हेर्न दर्शक व्यग्र प्रतीक्षामा थिए ।
तर, अफगानी ओपनर रहमानुउल्लाह गुर्बज र जिम्बावेका रायन बरलले आक्रामक शैलीमा ब्याटिङ गर्दा अफ्रिदी क्रिजमा आउनै पाएनन् । रहमानुउल्लाह आउट हुँदा काठमाडौंलाई जितका लागि ६८ रन आवश्यक थियो । यति वेलासम्म पनि सबैले अफ्रिदीकै आशा लगाएर बसेका थिए । राजु रिजाल र रायनले आवश्यक रन पूरा गर्दै काठमाडौंलाई सानदार जित दिलाए । दुई खेलमा मात्रै सहभागी हुन आएका अफ्रिदीले पहिलो खेलमा ब्याटिङ गर्न नपाउँदा दर्शक निराश बने ।
अफ्रिदीले दिए चार ओभरमा ३२ रन
काठमाडौंका कप्तान सन्दीप लामिछानेले पावर प्लेको समाप्तिसँगै अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी लेग स्पिनर बलर अफ्रिदीलाई छैटौँ ओभरमै बल दिए । तर, अफ्रिदीले स्तरअनुसार बलिङ गर्न सकेनन् । उनले आफ्नो व्यक्तिगत पहिलो ओभरमै छक्काको सामना गर्न पुगे । उनले पहिलो ओभरमा १४ रन दिँदा एक चौकासमेत व्यहोरे । आठौँ ओभरमा पुनः बलिङ गर्न आएका अफ्रिदीले यसपटक तीन रन मात्र दिएर कमब्याक गर्न कोसिस गरे ।
पहिलो स्पेलमा अफ्रिदीले १७ रन दिएपछि कप्तान सन्दीपले उनलाई आराम दिए । इनिङ्सको १४औँ ओभरमा अफ्रिदीले व्यक्तिगत तेस्रो ओभर फ्याँके । यसपटक उनले १० रन खर्चे । यो ओभरमा पनि उनले एक छक्का सामना गरे । १६औँ ओभरमा अफ्रिदीले अन्तिम स्पेल गरे ।
दर्शकले एक हातले बल क्याच लिए ५० हजार पुरस्कार
इपिएलमा दर्शकको उपस्थिति बढाउन र खेल रोमाञ्चक बनाउन आयोजकले नयाँ जुक्ति निकालेको छ । भाग्य बलियो वा दिन राम्रो भए खेल हेर्नुका साथै दर्शकले ५० हजार रुपैयाँ पुरस्कार पाउन सक्छन् । यस्तो कसरी ? ब्याट्सम्यानले लामो छक्का प्रहार गरेको बल दर्शकले एक हातले क्याच गरे अब आयोजकले ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।
त्रिवि मैदानमा शनिबारदेखि चौथो संस्करणको इपिएल सुरु हुँदा आयोजकले यस्तो आकर्षक योजना घोषणा गरेको हो । उद्घाटन खेलमा काठमाडौं किंग्स इलाभेन र साबिक विजेता ललितपुर प्याट्रियट्र्सबीचको खेलमा ब्याट्सम्यानले १९ पटक दर्शक बसेकै स्थानमा लामो छक्का प्रहार गरेका थिए । तर, कुनै पनि एक दर्शकले एक हातले बल समात्न भने सकेनन् । यद्यपि, दर्शकले क्याच लिने प्रयास नगरेका भने होइनन् । तर, ब्याट्सम्यानले प्रहार गरेको बल यति धेरै स्पिडमा थियो कि दर्शकको हातमा लागेर पनि फुत्कियो ।
क्रिकेटमा दर्शकको आगमन
कोरोना भाइरसका कारण सरकारले नेपालभित्र हुने गरेको कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा थोरै दर्शक राख्न निर्देशन दिएको छ । कोरोनाविरुद्ध स्वास्थ्य प्रोटोकल पालना गरी खेल हेर्न आग्रह गरेको छ । त्रिवि मैदानमा शनिबार भएको काठमाडौं र ललितपुरबीचको खेलमा यस्तो कुनै पनि प्रोटोकल मानेको भने देखिएन । अन्य वेलामा झैँ सहजै दर्शकले टिकट काटेर मैदानमा खेलको आनन्द उठाए । पहिलो दिन भएकाले दर्शकको उपस्थिति तीन हजारभन्दा बढी भएको आयोजकको अनुमान छ । आयोजकले इपिएलमा बिस्तारै दर्शकको क्रेज बढ्ने अनुमान गरेको छ ।