यातायात व्यवस्था विभागले चाडपर्वलाई लक्षित गर्दै असोज ७ गतेदेखि टिकट बुकिङ खुला गर्ने तयारी गरेको छ । विभागका प्रवक्ता लोकनाथ भुसालले असोज ६ गते व्यवसायीसँग छलफल गर्ने र असोज ७ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी भइरहेको बताए ।
भुसालका अनुसार यसअघि दुई चरणमा यातायात व्यवसायीहरूसँग छलफल भइसकेको छ । अब ६ गते बैठक बस्नेछ । उक्त बैठकले चाडपर्वलक्षित यातायात सञ्चालनको टुंगो लगाउने उनले बताए । ‘कोभिड सुरक्षा, भिडभाड र यात्रुहरूको संख्या आकलन गरेर व्यवसायीहरूलाई यातायातको व्यवस्था गर्न निर्देशन दिइसकिएको छ,’ उनले भने, ‘तोकिएको भन्दा बढी भाडा लिने, कोचाकोच यात्रु बोक्ने र कोभिड स्वास्थ्य मापदण्ड बेवास्ता गर्नेमाथि कारबाही हुन्छ ।’
अझै तोकेनन् प्रदेश सरकारले भाडादर
प्रदेश सरकारले अन्तरप्रदेशको भाडादर समायोजन नगर्दा दसैँको लागि टिकट बुकिङ खुला गर्न ढिलो हुने भएको छ । एक प्रदेशबाट अर्को प्रदेशमा जाने यात्रुहरूलाई लक्षित गर्दै टिकट बुकिङ खुला गर्दा कति भाडा लिने भन्ने विषयमा व्यवसायीहरु अलमलमा परेका छन् । सरकारले छिटो भाडादर तोकिदिए त्यसैअनुसार बुकिङ खुला गर्न सकिने उनीहरूको भनाइ छ । यातायात व्यवसायी केन्द्रीय महासंघका अध्यक्ष सरोज सिटौलाले सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा जाने सार्वजनिक यातायातको भाडादर नतोक्दा टिकट बुकिङ र यातायात सञ्चालनमा अलमल भएको बताए । ‘सरकारले कुन प्रदेशबाट कुन प्रदेशसम्म जाँदा कति भाडा लिने भनेर तोकेको छैन । सरकारले ढिलो गर्दा टिकट बुकिङ नै अन्याेलमा छ,’ सिटौलाले भने ।
यसअघि एक महिना अघिदेखि नै केन्द्र सरकारले लामो दुरीको भाडादर समायोजन गरिसकेको छ । यसबाहेक अन्तरप्रदेशको भाडादर पनि सरकारले तोक्नुपर्ने हुन्छ। प्रदेश १ बाहेक अन्य प्रदेशले भाडादर तोक्न सकेका छैनन् । ‘अन्तरप्रदेश टिकट बुकिङ दर सरकारले तोकेको छैन । सबै प्रदेशले भाडादर तोके भने बल्ल हामीले त्यहीअनुसार बुकिङ खुला गर्न र यातायातको स्टिमेट गर्न सहज हुन्छ,’ उनले भने, ‘यति सानो विषयमा पनि सरकारलाई ताकेता गरिरहनुपरेको छ ।’ प्रदेशले तोकेको भाडा दरअनुसार यातायात चलाउन व्यवसायीहरू सहमति हुने उनको भनाइ छ ।
उनले व्यवसायीहरूले मनोमानी ढंगले भाडादर नबढाउने बताए । केन्द्र र प्रदेश सरकारले तोकेबमोजिम नै भाडा लिन सबै व्यवसायीहरूलाई निर्देशन दिने उनको भनाइ छ । कोभिड सुरक्षा, सडक अवरुद्धजस्ता भैपरी आउने समस्याको बारेमा पनि सरकारले नसोचेको उनले बताए । तर, दसैँको वेला यात्रुहरूको चाप बढी भए पनि सार्वजनिक यातायात व्यवस्थित गरिने सिटौलाको दाबी छ।
‘खाली हुनुहुन्छ भने अहिले नै घर फर्कँदा सहज हुन्छ’
महासंघले दसैँको मुखमा सडक र यातायातका साधनमा अत्याधिक भिडभाड हुन सक्ने भन्दै खाली हुनेहरूले अहिले नै घर फर्किएर सहयोग गर्न अनुरोध गरेको छ । यो समयमा सहजै यात्रा गर्न पाउने भएकोले काठमाडौं वा अन्य सहरबाट दसैँमा घर फर्कनेहरू अहिले घर फर्कँदा धेरै सहज हुने महासंघले जनाएको छ। दसैँ भित्रिन अझै केही दिन बाँकी रहेकोले अहिले यातायातका साधनमा भिडभाड छैन। यो समयमा खाली हुनेहरू घर फर्कँदा वा ओहोरदोहोर गर्दा सहज हुने महासंघका अध्यक्ष सिटौलाको भनाइ छ । सिटौलाले भने, ‘कोही खाली हुनुहुन्छ भने अहिले घर फर्कँदा सहजै यात्रा गर्न पाउनुहुन्छ। अहिले सवारीसाधन खाली छन् । दसैँको मुखमा भिडभाड हुन सक्छ ।’