अन्तर्वार्ता
पार्टी विभाजनको असर जनप्रतिनिधिमा कस्तो प्रभाव देखियो ?
अलिकति प्रभावचाहिँ खासगरी २ नम्बर र सुदूरपश्चिम प्रदेशमा देखिएको छ । समग्रमा १५ देखि २० प्रतिशतको हाराहारीमा प्रभाव परेको प्रारम्भिक रूपमा देखिन्छ । अधिकांशमा न्यून देखिए पनि कतिपयमा चाहिँ केही प्रभाव परेकै छ । स्थानीय तहका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षसहित तल जनतासँग प्रत्यक्ष जोडिनुभएका अधिकांश जनप्रतिनिधि जसले आश्वासनबाट तत्काल सुविधाको लाभ लिने केही ठाउँ छैन, त्यस्ता साथी जनमतको कदर गर्दै पार्टीको पक्षमा दृढतापूर्वक उभिनुभएको छ । अर्थात्, स्थानीय तहमा कम प्रभाव देखिएको छ ।
तर, प्रदेशमा चाहिँ सरकार परिवर्तनको सम्भावना, मन्त्री पदको अफरले पनि होला खासगरी दुईवटा प्रदेशमा केही प्रभाव परेको छ । अर्थात्, जहाँ प्रलोभनबाट केही प्राप्त हुने सम्भावना छ, त्यस्ता ठाउँमा अलिक साथीहरू विचलित हुनुभएको हो कि भन्ने देखिएको छ । यसरी स्थानीय तह र प्रदेशका जनप्रतिनिधिबीच तुलना गर्दा विभाजनको असर जति तल गयो, त्यति नै कम देखिएको छ ।
तपाईंहरूले रोक्न खोज्दाखोज्दै केन्द्रदेखि जिल्लासम्म जनप्रतिनिधि नेकपा एसतिर खुले, होइन ?
हामीले पार्टीका पक्षमा उभिनका लागि आह्वान गर्नेबाहेक रोक्नका लागि त्यस्तो केही पनि गरेनौँ । उहाँहरूले जुन डिजाइनअन्तर्गत नेकपा एमालेलाई समाप्त पार्ने, यसको संगठन र सामर्थ्यलाई तहसनहस गर्ने योजना बनाउनुभएको थियो, बरु त्योचाहिँ असफल भएको छ । थोरै क्षति त भएको छ, तर हामी त्यो क्षतिलाई छिट्टै मेकअप गर्छौँ ।
मेकअप गर्छौँ भन्नुभो, पार्टीको संगठनमा पुगेको क्षतिपूर्ति गर्ने तपाईंहरूसँग त्यस्तो योजना के छ ?
निकट भविष्यमै स्थानीय तहको चुनाव हुँदै छ । त्यसकारण हिजो पनि स्थानीय तहको निर्वाचनमा हामी एक्लै लडेको तथ्य सबैमा जगजाहेरै छ । कांग्रेस–माओवादीबीच देशभर भएको गठबन्धनविरुद्ध जुधेरै नेकपा एमालेले सफलता प्राप्त गरेको हो । त्यतिवेला त हामीसँग यो गर्छौँ भन्ने मात्र थियो, तर अब त हामीले यी–यी काम गर्यौँ भनेर गरेका कामका उपलब्धिको फेहरिस्तसहित जनतामा जाने आधार बनिसकेको छ । त्यसैले हामी त्यही ढंगले प्रस्तुत हुन्छौँ । अर्कोतिर, प्रदेशमा सनाखत गर्ने सभासद्हरूको अधिकांश संख्या समानुपातिकको रहेको छ ।
प्रत्यक्ष निर्वाचित सांसदको संख्या अत्यन्त कम छ । यसले प्रस्टसँग के प्रवृत्ति देखायो भने जसको भविष्य छैन, जनाधार छैन, त्यस्ता धेरैजसो साथी मात्र विभाजनतिर जानुभएको छ । त्यसले गर्दा हामी क्षतिपूर्ति गर्न सक्छौँ । जनताका बीचमा पनि यी कुरा लैजान्छौँ, नयाँ पंक्तिलाई अगाडि बढाउँछौँ । पार्टीमा निरन्तर आकर्षण छ, अहिले पनि पार्टी प्रवेशको कार्यक्रम देशैभर चलिरहेको छ, त्यसबाट मेकअप गर्छौँ ।
दशबुँदे सहमतिअनुसार पार्टी संरचनालाई २ जेठ ०७५ सम्मको अवस्थामा फर्काउने दशबुँदे सहमतिमै समस्या आएकाले विभाजन रोज्न सजिलो भएको भन्ने चर्चा छ नि ?
समस्या छैन । कतै समस्या आयो भने समाधानका लागि हामीले कार्यदल नै बनाएका छौँ । उपाध्यक्ष, महासचिव, उपमहासचिवलगायतका नेताहरू कार्यदलमा हुनुहुन्छ । उहाँहरूले समस्या देखिएको अवस्थामा समाधान गर्नुहुन्छ । अहिले हामीसँग तीनखाले कमिटी छन् । पहिलो २ जेठ अघिसम्मको कमिटी, दोस्रो, पार्टी एकीकरणका क्रममा पुनर्गठित भएको कमिटी छ ।
त्यो कमिटीमा कतिपय पूर्वमाओवादीका साथीहरूले नेतृत्व लिएको, समावेश भएको संरचना पनि छन् । त्यसैले हामीले दशबुँदेमै लेखेका छौँ, नेकपा एकीकरणका क्रममा जो जहाँ हुनुहुन्छ, उहाँहरूलाई तत्तत् ठाउँमै जिम्मेवारी कायम राख्ने भनिएको छ । तेस्रो कमिटीचाहिँ पछि पार्टीमा अन्तर्विरोध बढेपछि खासगरी ५ पुसपछि बनाइएका कमिटी छन् । ती सबैलाई समेट्ने क्रममा मूलतः २ जेठलाई आधार मानेर दशबुँदे सहमतिको स्पिरिटअनुसार जाने हो ।