देशमा सामूहिक हत्याका घटना बढ्दै गएको प्रहरी तथ्यांक छ । यसमा प्रतिशोध, डिप्रेसन, यौन सम्बन्ध, सम्पत्ति तथा आवेगसम्बन्धी कारण प्रमुख रहेको प्रहरीले जनाएको छ । सामूहिक हत्या प्रायः एकै व्यक्तिबाट भएका छन् ।
सामूहिक हत्याको पछिल्लो सबैभन्दा ठूलो घटना डेढ वर्षअघि पाँचथरको मिल्काजुङ गाउँपालिकाको आरुबोटेमा भएको थियो । बमबहादुर फियाक र उनका ज्वाइँ धनराज शेर्माको नौजना परिवारको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो । बमबहादुरकै कान्छा ज्वाइँ मानबहादुर माखिमले हत्या गरेर आत्महत्या गरेका थिए । डिप्रेसनको रोग, पारिवारिक तथा आर्थिक समस्या घटनाको प्रमुख कारण देखिएको थियो । उनकी श्रीमती माइत बस्दै आएकी थिइन् । श्रीमती लिन जाँदा नआएको र ससुराली र साढुदाइको परिवारका कारण आफूलाई श्रीमतीले छाडेको रिसमा उनले यसरी सामूहिक हत्या गरेको आकलन गरिएको थियो । हत्यापछि उनले रूखमा झुन्डिएर आत्महत्या गरेका थिए ।
सामूहिक हत्या : डिप्रेसन, यौन, सम्पत्ति र आवेग
मनोचिकित्सक डा. कपिलदेव उपाध्यायका अनुसार कुनै मानिस कस्तो समाजमा हुर्किएको छ भन्नेले उसको रिस, प्रतिशोधजस्ता कुरा निर्भर गर्छ । हाम्रो समाजका मान्छेमा रिस, आवेग र प्रतिशोध धेरै छ ।
२ जेठ ०७७ मा रुपन्देहीको तिलोत्तमामा पाँचजनाको सामूहिक हत्या भएको थियो । गादेवी पशु फार्ममा काम गर्ने रुपन्देहीको सैनामैना नगरपालिका– ५ दरखासी घर भएका ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३७ वर्षीया जानकी, १६ वर्षका पोषराज मुसहर, १५ वर्षका करण चौधरी र १६ वर्षका आशिष चौधरीको हत्या गरेका थिए । आपूmलाई पशुसँग जोडेर बारम्बार जिस्क्याउने गरेको र चरित्रहत्या गरेकाले त्यसकै आवेगमा आएर हत्या गरेको बयान उनले दिएका थिए । उनमा मानसिक समस्या पनि देखिएको थियो ।
सामूहिक हत्याको अर्काे बहुचर्चित घटना बडिखेल हत्या प्रकरण हो । १८ असोज ०६० मा ललितपुरको बडिखेलमा भानु नगरकोटी, उनकी श्रीमती, दुई छोरी र एक छोराको धारिलो हतियार प्रयोग गरी हत्या भयो । घटनाको १२ वर्षपछि प्रहरीले हत्याका अभियुक्त चन्द्रबहादुर प्रहरीलाई पक्राउ गरेको थियो । उनी भानुका जेठान हुन् । ज्वाइँको आफ्नो श्रीमतीसँग सम्बन्ध रहेको आशंकाका आधारमा उनले यस्तो हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । मदिराको नशामा उनले त्यसरी हत्या गरेका थिए ।
०७३ को वैशाखमा सल्यानको रानागाउँमा एक युवकले चारजनाको हत्या गरेका थिए । स्थानीय सञ्जय भारतीले सीता खाण, उनकी बहिनी गीता र सीताका दुई बच्चाको हत्या गरेका थिए । यो घटनाको कारण यौनइच्छा देखिएको थियो । ती महिलासँग उनले यौन सम्बन्ध राख्न खोजेको र नमानेपछि यसरी सामूहिक हत्या गरेका थिए । अतृप्त यौन चाहना घटनाको प्रमुख कारण देखिएको थियो ।
लमजुङको भोटेओडारमा सात वर्षअघि एकै परिवारका चारजनाको हत्या भएको थियो । १५ असोज ०७१ मा ६० वर्षका अर्जुनप्रसाद रेग्मी, ३५ वर्षकी रिना घिमिरे, १४ वर्षकी ज्योति रेग्मी र १२ वर्षका विकास घिमिरेको हत्या भएको थियो । घटनामा अर्जुनका जेठा छोरा राममणि रेग्मीको संलग्नता देखिएको थियो । पारिवारिक विवादमा उनले नै त्यसरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
१६ कात्तिक ०७६ मा गुल्मीको चन्द्रकोटमा तीनजनाको हत्या भएको थियो । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भई हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बू र उनका सात वर्षीयन जुम्ल्याहा छोरी गंंगा र जमुनाको हत्या भएको थियो । हत्या आरोपमा प्रहरीले बाग्लुङको गलकोटका पूर्णबहादुर सुनार र माधव सुनारलाई पक्राउ गरेको थियो ।
मनोचिकित्सक डा. कपिलदेव उपाध्याय यस्ता घटना सामाजिक तथा मानसिक परिस्थितिको उपज भएको बताउँछन् । ‘कुनै पनि मान्छे कस्तो समाजमा हुर्किएको छ भन्ने कुराले उसको रिस, प्रतिशोधजस्ता कुरा निर्भर हुन्छ,’ उनी भन्छन्, ‘हाम्रो समाजमा मान्छेहरूमा रिस, आवेग र प्रतिशोध धेरै हुन्छ, यस्ता घटनामा मान्छेको हुर्काइको प्रभाव हुन्छ ।’
सामूहिक हत्याका घटनाको ठ्याक्कै प्रवृत्ति नै विश्लेषण गर्न गाह्रो हुने प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बताउँछन् । ‘हरेक घटनाको फरक–फरक कारण हुन्छन्,’ उनी भन्छन्, ‘सामूहिक हत्याका घटना किन बढ्दै छन् भनेर थप अध्ययन हुनुपर्छ ।’
अधिवक्ता सुवास आचार्य देश र समाजका समस्याले नागरिकमा फ्रस्टेसन बढेको र त्यसले यस्ता अपराध जन्माएको बताउँछन् । समाजमा सुधार नआए आगामी दिनमा यस्ता घटना झन् बढ्ने उनको विश्लेषण छ ।
सामूहिक हत्याका शृंखला
१. ललितपुरको बडिखेल हत्याकाण्ड
मिति : १६ असोज ०६०
मृतक : पाँच
कारण : अनैतिक सम्बन्धको आशंका र मदिरा
२. रुपन्देहीको तिलोत्तमा हत्याकाण्ड
घटना मिति : २ जेठ ०७७
मृतक : चार
हत्याको कारण : चरित्र हत्या गरेको प्रतिशोध, मानसिक समस्या
३. पाँचथरको आरुबोटे हत्याकाण्ड
मिति : ७ जेठ ०७६
मृतक : नौजना
हत्याको कारण : डिप्रेसन, पारिवारिक तनाव
४. लमजुङको भोटेओडार हत्याकाण्ड
घटना मिति : १५ असोज ०७१
मृतक : चार
कारण : पारिवारिक विवाद
५. सल्यान रानागाउँ हत्या
घटना मिति : १५ वैशाख ०७३
मृतक संख्या : चार
कारण : यौन तृष्णा
