अमेरिकाको ‘मानवीय युद्ध’को अँध्यारो पक्ष

मानवीय युद्ध नाम दिइएको युद्धको नयाँ संस्करण अमेरिकाको हस्तक्षेपकारी विदेश नीतिको सहयोगी साबित भयो

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

अगस्ट ३१ को भाषणमा अमेरिकी राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट सेना फिर्तीको निर्णय ‘चिरकालीन युद्ध’ अन्त्य गर्ने चाहनाबाट प्रेरित भएको बताए । भाषणमा उनले अमेरिकाले ‘अफगानिस्तान र अन्य देशमा आतंकवादविरुद्धको लडाइँ जारी राख्ने’ वाचा पनि गरेका छन् । ‘आज यो उद्देश्य हासिल गर्न मैदानमै युद्ध गर्नुपर्ने स्थिति छैन,’ बाइडेनले भने । अफगानिस्तानबाट अमेरिकी सेनाको अन्तिम टुकडी पनि फर्किएपछि विगत २० वर्षको अमेरिकी विरासत स्पष्ट भएको छ । पछिल्लो २० वर्ष विश्वले प्रतिआतंकवादी युद्धको भयानक नयाँ स्वरूप देख्यो, जसको चरित्र अन्त्यहीन र ‘मानवीय’ रह्यो । अमेरिकाको युद्ध सञ्चालनको यो रूपान्तरित परम्पराले अफगानिस्तानबाट बहिर्गमनपछि पूर्णता हासिल गरेको छ । 

मानवीय युद्ध लड्ने चाहनाबारे अघिल्ला पुस्ताका अमेरिकीलाई थाहा थिएन । आदिवासीविरुद्धको लामो र निर्दयी युद्धबाट सुरु भएको अमेरिकाको युद्ध विदेश निर्यात हुनुअघि नै अत्यन्त क्रूर थियो । विदेशमा उस्तै हिंसापछि फिलिपिन्स नागरिकविरुद्ध विस्तारित भयो । फिलिपिन्समा अमेरिकाले जमाएको कब्जाविरुद्ध उसले पहिलो औपनिवेशिक विद्रोह सामना गरेको थियो । हवाई युद्ध सुरु भएपछि क्रूरताको अमेरिकी परम्परा थप विस्तारित भयो । दोस्रो विश्वयुद्ध, कोरियाली युद्ध र भियतनाम युद्धमा कुनै मानवीय ख्याल गरिएन । ती युद्धमा एसियाली शत्रुलाई आदिवासी अमेरिकासँग तुलना गरिन्थ्यो र तिनमाथि पनि हिंसा पनि उस्तै प्रकारको प्रयोग भयो । 

सन् २००१ सेप्टेम्बर ११ पछि मध्य–पूर्व नयाँ युद्ध मोर्चा बनेको थियो । तर, यस वेलासम्म अमेरिकी युद्ध संस्कृतिले नयाँ परम्पराको विकास गरेको थियो, जुन आतंकवादविरुद्धको युद्धको विशेषता रहँदै आएको छ । तर, यो नयाँ परम्पराको जग भने भियतनाम युद्धपछि नै हालिएको थियो । भियतनाम युद्धका कारण धेरै अमेरिकी तिनको देशले विदेशी भूमिका मच्चाएको हिंसाबाट लज्जित भएका थिए । त्यही समयमा विश्वव्यापी अभियानले युद्धको नियम बनाउन दबाब दिइरहेको थियो । युद्धका नियम विगतमा पनि नभएका होइनन्, तिनको बेवास्ता गरिन्थ्यो या ती बाध्यकारी थिएनन् । सन् १९७० को दशकमा पहिलोपटक आमनागरिक (विशेष हवाई आक्रमणमार्फत) निसाना नबनाउने बाध्यकारी कानुन लिपिबद्ध गरियो । 

मानवतावादी समूहले लडाइँका नैतिकता तथा कानुनको निगरानी सुरु गरे । उदाहरणका लागि, ह्युमन राइट्स वाचले सन् १९८० को दशकमा ल्याटिन अमेरिकाभित्र निगरानी गर्न थालेको थियो । अझ महत्वपूर्ण कुरा, भियतनाम युद्धले अमेरिकाको प्रतिष्ठामा पुर्याएको क्षतिका कारण अमेरिकी सेना थप मानवीय तथा कानुनसम्मत युद्ध गर्नुपर्ने निष्कर्षमा पुगेको थियो । त्यसैले कानुनले युद्धरत पक्षको संहितामा केन्द्रीय भूमिका खेल्ने कुरालाई सहजै स्विकारियो । राजनीतिक सिद्धान्तकार माइकल बाल्जरले अमेरिकी सैनिकले सैन्य इतिहासमा बिल्कुल नयाँ ‘युद्धको नैतिकता’समेत उपयोगी पाएको टिप्पणी गरेका छन् ।

शीतयुद्धको अन्त्य हुँदासम्म नयाँ युद्ध परम्पराको ढाँचा तयार भइसकेको थियो । सन् १९९१ को खाडी युद्ध ह्युमन राइट्स वाचले निगरानी गरेको पहिलो अन्तर्राष्ट्रिय द्वन्द्व थियो । त्यसमा समूहले युद्धको कानुन उल्लंघन भए/नभएको जाँच गरेको थियो । अध्ययन गर्ने घटनाको छनोट गर्न सैन्य वकिल सघाउँथे । तर, यी विकासक्रम त्यस समयमा घटिरहेको थियो, जब युद्धविरोधी ऊर्जा कमजोर हुँदै थियो । अब युद्ध जायज थियो कि थिएन भन्ने प्रश्नलाई ‘युद्धमा निश्चित नियम पालना गरिएको थियो कि थिएन’ भन्ने प्रश्नले विस्थापित गरिदिएको थियो ।

मानवीय युद्ध नाम दिइएको युद्धको नयाँ संस्करण अमेरिकाको हस्तक्षेपकारी विदेश नीतिको सहयोगी साबित भयो । विगतमा अमेरिकी जनताबाट वैधता प्राप्त गर्नका लागि युद्ध मानवीय देखाउनुपर्ने आवश्यकता पर्दैनथ्यो, तर नयाँ युद्धको शैली परिवर्तित नैतिक युद्धको माहोलमा फर्किएको थियो । उत्तर–शीतयुद्धकालीन युगमा अमेरिकाका दुवै राजनीतिक दल अमेरिकी शक्तिको नैतिक प्रयोगमा प्रतिबद्ध हुन थाले । प्रजातन्त्र तथा मानवअधिकार प्रवद्र्धनजस्ता विषय आक्रमणका जायज कारण बन्यो । त्यसपछि सेप्टेम्बर ११ पछिका युद्धमा अमेरिकी सैनिकका व्यवहार सतहमा आउन थाले । 

ग्वान्टानामोजस्ता हिरासत केन्द्रमा कैदीमाथि कठोर यातनाका खबर आइरहेका थिए । यस्तोमा बुस प्रशासनका आलोचकहरू कहाँ आक्रमण गरिएको छ, त्यसले कति लामो युद्ध ल्याइरहेको छ भन्ने कुरामा भन्दा युद्धस्थलमा लडाइँका नियम पालना हुनुपर्ने कुरामा जोड दिइरहेका थिए । सन् २००४ अप्रिलमा अबु ग्रेइबस्थित कारागारका कैदीमाथि भएका यातनाका फोटो सार्वजनिक भयो । मानवतावादीहरूले यस प्रकरणमा ठूलो असन्तोष व्यक्त गरे । फलस्वरूप अमेरिकाले आफ्नो युद्ध कार्यक्रमबाट यातना तथा अन्य अशोभनीय कार्य हटायो । त्यसपछि अमेरिकी युद्ध कार्यक्रमले नयाँ रूप लियो । यदि युद्धमा भइरहेका घृणित पक्षको आलोचनाले धेरैमा तिनै घृणित पक्षमा सुधार ल्याउँछ, युद्ध अन्त्य गराउँदैन । आखिरमा भयो पनि त्यही । 

पुराना साम्राज्यहरू तिनको क्रूर कार्य मानवीय सभ्यता तथा प्रगतिका लागि आवश्यक भन्दै बचाउ गर्थे । हाम्रो समयको साम्राज्यले भने युद्धको ‘मानवीयता’को व्याख्याले लडाइँको लम्बाइ र विस्तारलाई वैधता दिन थालेका छन् । 

आफ्नो शासनको पहिलो वर्षमा बाराक ओबामाले उनका पूर्ववर्तीका कार्यलाई नै निरन्तरता दिए । सन् २००८ मा शान्तिकामी उम्मेदवारका रूपमा चुनाव लडेका ओबामाले उनका सुरुवाती महिनामा कैदीहरूलाई सम्मानपूर्वक व्यवहार गर्ने वाचा दोहोर्याइरहे । कैयौँ राजनीतिक पण्डितले यतिमै ओबामाको वाहवाही गरिरहे । ओबामा प्रशासनले कैदीमाथिको यातनालाई त रोक्यो, तर युद्धलाई जारी राख्यो । तर, पक्राउभन्दा आक्रमण प्राथमिकतामा परेपछि कैदीमाथिको अमानवीय व्यवहारको कुरै आउने भएन । 

ओबामाले आतंकवादविरुद्धको युद्धलाई व्यापक विस्तार गरेका थिए । बुसले युद्धलाई दुई देशमा केन्द्रित गरेका भए पनि ओबामाले १० भन्दा धेरै देशमा ड्रोन आक्रमण र विशेष फौजको छापालाई अनुमति दिए । अन्त्यहीन युद्धको मानवीय ढाँचाको प्रचार गर्ने कुरामा ओबामाले बुसलाई पनि उछिनेका थिए । धेरैलाई अचम्म लाग्ने गरी अमेरिकी शक्तिको मानवीयकरण कायम राख्न राष्ट्रपति ट्रम्पसमेत बाध्य भएका थिए । ट्रम्पले ड्रोन आक्रमणको पारदर्शिता कम गरे र टप–डाउन शैली खुकुलो पारे पनि अन्य मानवीय आवश्यकता बेवास्ता गर्न सकेनन् । 

‘मानवीय युद्ध’ सुन्दैमा अमिल्दो पदावली लाग्नु स्वाभाविक हो र ‘घृणित युद्ध’प्रतिको घृणा पनि बुझ्न सकिन्छ । तर, यहाँ नियन्त्रण तथा निगरानीको ‘मानवीय’ शैली अमेरिकी सीमाभन्दा पर भइरहेका छन् भन्ने तथ्य धेरैले बिर्सन्छन्, जहाँका हताहतीलाई आमसर्वसाधारणबाट सम्पादन गरिन्छ । पुराना साम्राज्यहरू तिनको क्रूर कार्य मानवीय सभ्यता तथा प्रगतिका लागि आवश्यक भन्दै बचाउ गर्थे । हाम्रो समयको साम्राज्यले भने युद्धको ‘मानवीयता’को व्याख्याले लडाइँको लम्बाइ र विस्तारलाई वैधता दिन थालेका छन् ।

अफगानिस्तानबाट सेना फर्काउने कुराको स्पष्टीकरण दिने क्रममा बाइडेनको प्रतिआतंकवादी संघर्ष अन्त्य नभएको भनाइले यसैलाई स्पष्ट पार्छ । ड्रोन तथा मिसाइल आक्रमणको पूर्वाधार तथा विशेष फौजको छापा अफगानिस्तानको असफलतापछि पुनः बढ्न थालेको छ । आतंकवादविरुद्धको अमेरिकी युद्धको निरन्तरतामा धेरैजना जिम्मेवार छन् । तर, अमेरिकी सैन्य शैलीलाई कम क्रूर बनाउने प्रयासले अमेरिकी युद्ध थप धेरैका लागि स्वीकार्य बन्न थालेको छ । 

स्यामुयल मोइन यल विश्वविद्यालयका कानुन तथा इतिहासका प्राध्यापक हुन् ।

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

सुझावित समाचार