‘तँ र म’को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न सकिँदैन : नेम्वाङ

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी विभाजनको औचित्य स्थापित गर्न नसकिने बताएका छन् । उनले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन  पनि नेपाललाई चुनौती दिएका छन् । 

विनाविचारधारा, दर्शन र कार्यक्रमविना पार्टी फुटाउन नपाउने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै उनले त्यसविपरीत गएर माधव नेपालहरूले पार्टी फुटाएको आरोपसमेत लगाए । पार्टीनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठनले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपनेता नेम्वाङले कुन विचारधारा, दर्शन र कार्यक्रमको आधारमा पार्टी विभाजन गरेको ? भनेर माधव नेताहरूलाई प्रश्न गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।

उनले भने, ‘मैले तपाईंहरूसमक्ष राख्न खोजेको कुरा के हो भने तपाईंहरू आ–आफ्नो ठाउँबाट जुरुक्क उठ्नुपर्छ । गाउँगाउँबाट उठ्नुपर्छ, घरघरबाट उठ्नुपर्छ र सोध्नुपर्छ– कुनचाहिँ विचारधारामा फरक पर्यो, कुनचाहिँ दर्शन फरक पर्यो ? कुनचाहिँ कार्यक्रम फरक पर्यो ? र, तिमीले नेकपा एमाले छोडेर छुट्टै राजनीतिक दल बनायौँ भनेर प्रश्न गर्नुपर्दछ । विभाजनको औचित्य स्थापित गर्न सक्ने छैनन् साथीहरूले । म यति मात्रै भन्छु । विभाजनको औचित्य स्थापित गर्नुपर्छ । अहिले नै प्रस्ट देखिएको छ । विभाजनको औचित्य स्थापित हुन सक्ने ठाउँ छैन । हिजोअस्ति एक दुईजना साथीहरूले भन्नुभयो– जो पहिलो माले विभाजनका पालामा पनि हुनुहुन्थ्यो । उहाँले भन्दै हुनुहुन्थ्यो । ठ्याक्कै यही कुरा उठाउँदै कुनै विचार सिद्धान्त छैन, खालि तँ र म को कुरा छ । हामीले के आधारमा जनतालाई भन्ने ? हामीले यो आधारमा पार्टी फुटायौँ । त्यति वेला हामीले माले फुटाउँदा त राष्ट्रियताको प्रश्न थियो ।’

उपनेता नेम्वाङले घरघरबाट बाहिर आएर पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुट्न पार्टीनिकट कानुन व्यवसायीहरूलाई आग्रह गरे ।

सुझावित समाचार