पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ७५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १४ हजार ३३४ नमुनाको परीक्षण गर्दा एक हजार ७५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नौ हजार ७७३ नमुनाको पिसिआर र चार हजार ५६१ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
यो समयावधिमा नेपालमा थप २३ संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या १० हजार ८०९ पुगेको छ।
शुक्रबार दुई हजार २७४ जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ। तीमध्ये ५४० संक्रमितको सघन उपचार कक्षमा उपचार भइरहेको छ। १५६ संक्रमित भेन्टिलेटरमा छन्।
नेपालमा हालसम्म ५४ लाख ७२ हजार ७९३ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने ४७ लाख ९५ हजार ३७३ जनाले खोपको पूर्ण मात्रा लगाएका छन्।