आजदेखि कांग्रेसको वडा अधिवेशन : सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत सहभागी हुन देउवाकाे अनुरोध

शुक्रबार, १८ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ/नगर वडा अधिवेशन सुरु भएकाे छ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन सुरु भएकाे कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।  

नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । उनका अनुसार ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ । जिम्मेवारी तोकेका मतदान अधिकृतले आफ्ना वडामा आवश्यक तयारीअनुसार मतदान गराउने प्रक्रिया सुरु भएको छ ।  

क्रियाशील सदस्यता सूची प्राप्त भएका र आवश्यक तयारी पूरा गरिसकेका सबै वडामा सम्भव भएसम्म आज नै अधिवेशन हुने र बाँकी नाम छुटेका तथा सूची मिलाउनुपर्ने वडामा समितिको स्वीकृति लिएर एक–दुई दिनपछि अधिवेशन गर्न सकिने बताइएको छ ।    

क्रियाशील सदस्यता नामावली प्रकाशित हुन बाँकी २१ जिल्लाको सूची पनि क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ–नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने कांग्रेस पार्टी कार्यालयले जनाएको छ ।  

करिब नौ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरूले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।

मुलुकभरका सबै ६ हजार सात सय ४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार दुई सय एक पदाधिकारी र सदस्य एक लाख २१ हजार ६ सय ८१ निर्वाचित हुने संयोजक यादवले जानकारी दिए । यसबाहेक मनोनीत हुनेको संख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार पाँच सय ७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।  

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।  

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।  

पार्टीको वडा अधिवेशन सुरु भएको अवसरमा प्रधानमन्त्री एवं कांग्रेस सभापित शेरबहादुर देउवाले व्यक्त गरेको शुभकामना सन्देश

आदरणीय साथीहरू 
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया आजदेखि औपचारिक रूपमा प्रारम्भ भएको  छ । स्वदेश र विदेशमा रहेका पार्टीका सदस्यहरू, शुभेच्छुक र शुभचिन्तक सबैमा म जय नेपाल न्यानो अभिवादन व्यक्त गर्दछु ।

संवैधानिक बाध्यताअनुसार कोरोना महामारीकै बीच हामीले सुरु गर्नुपरेको महाधिवेशनमा सर्वप्रथम सामाजिक दूरी कामय गरी सहभागी हुन नेपाली कांग्रेसका तमाम नेता तथा कार्यकर्तालाई हार्दिक अनुरोध गर्दछु ।

आज म निकै खुसी छु । ८ लाखभन्दा बढी नेपाली कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४औँ महाधिवेशको प्रक्रियामा सहभागी हुनुभएको छ र मैले ती सबै सदस्यहरू र नेतृत्वको जोस, जाँगर र साथको अनुभूति यतिवेला गरिरहेको छु ।

लोकतन्त्रको पर्यायको रूपमा रहेको हाम्रो पार्टी नेपाली काग्रेस लोकतान्त्रिक अभ्यासमा आफूलाई सधैँअग्रणी साबित गर्दै आएको छ । नेपालका हरेक राजनीतिक आन्दोलनको नेतृत्व गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्रमा पनि नेपाली कांग्रेस सधैँ अगाडि छ ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा लोकतन्त्रको सौन्दर्य  हो । स्वस्थ प्रतिस्पर्धाले पार्टीको समग्र संगठनको जग मजबुत बनाउँदै जन-जनमा लोकतन्त्रको रक्तसञ्चार गर्छ । देशभरका साथीहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिस्पर्धामार्फत अधिवेशनमा सहभागी हुन अनुरोध गर्दछु ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न नेपाली कांग्रेसलाई बलियो बनाउन जरुरी छ । नेपाली जनताले बुझिसकेका छन्, बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव छ । त्यसैले ‘बलियो कांग्रेस, समृद्ध देश’ भन्ने नारालाई साकार पार्न म पार्टीका हरेक तहका साथीहरूलाई आग्रह गर्न चाहन्छु ।

कांग्रेसको त्यो विगतको योगदान, जनताको भरोसा, परिपक्वता  र अनुभवका कारण मुलुकको नेतृत्व अहिले फेरि कांग्रेसकै काँधमा आएको छ । म तपाईंहरूलाई जनताको विश्वास जित्ने गरेर अघि बढ्ने प्रण पनि यो सन्देशमार्फत गर्न चाहन्छु । 

हामी १४औँ महाधिवेशनमार्फत सशक्त कांग्रेस बनाउने अभियानमा होमिइसकेका छौँ । पार्टीका साथीहरूले हरेक गाउँको मुद्दासँग आफूलाई गाँस्दै,  हरेक टोलको भावनाको नेतृत्व गर्दै,  ती सबै मुद्दा  र भावना सम्बोधन गर्न बलियो कांग्रेस जरुरी रहेको सन्देश हरेक घरघरमा पुर्याउनु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।

अन्त्यमा आजदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी सबै आदरणीय साथीहरूलाई हार्दिक स्वागत तथा बधाई दिन चाहन्छु ।

धन्यवाद ।
जय नेपाल ।

सुझावित समाचार