कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने नेतृत्व आवश्यक : वरिष्ठ नेता पौडेल

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्। वडा अधिवेशनको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै पौडेलले यस्तो बताएका हुन्।

वरिष्ठ नेता पौडेलले कांग्रेसमा सबल, चिन्तनशील र लोकतन्त्रप्रति निष्ठावान नेतृत्वको आवश्यकता रहेकाले १४औँ महाधिवेशनमार्फत सोहीअनुसारको नेतृत्व चयनका लागि अपिल गरेका छन्। उनले भिडिओ सन्देशमार्फत १४औँ महाधिवेशनमा आत्माको पुकार सुनेर निर्णय गर्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
 
‘ढिलै भए पनि १४औँ महाधिवेशन  हाम्रोसामु आएको छ। १८ वडा तहबाट निर्वाचनको सुरुवात हुँदै छ,’ भिडियो सन्देशमा उनले भनेका छन्, ‘यो अवस्थामा हामीले अहिलेको परिवर्तनलाई रक्षा गर्दै लोकतन्त्रलाई साकार पार्ने दिशामा र नेपाली कांग्रेस जनताको भरोसाको केन्द्र बनाउने दिशामा काम गर्नुपर्नेछ। पार्टीलाई सबल नेतृत्व, चिन्तनशील नेतृत्व र लोकतन्त्रप्रति निष्ठावान नेतृत्वको आवश्यकता छ।’

त्यस्तै, उनले कोरोना महामारीबीच हुन लागेको महाधिवेशनमा स्वास्थ्य मापदण्ड पालना गरेर महाधिवेशनमा लाग्नसमेत आग्रह गरेका छन्।

सुझावित समाचार