इपिएलका विजेतालाई ५० लाख

तेस्रो संस्करणको इपिएलका विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पारेका थिए, प्रतियोगिताको साविक विजेता ललितपुर प्याट्रियर्स र उपविजेता भैरहवा ग्ल्याडियटर्स हुन्

बुधबार, १६ भदौ, २०७८
डिजिटल संस्करण
इपिएलका विजेतालाई ५० लाख

फाइल फोटो

चौथो एभरेस्ट प्रिमियर लिग (इपिएल)को च्याम्पियन टोलीले ५० लाख रुपैयाँ पाउने भएको छ । आयोजक इपिएलले मंगलबार सामाजिक सञ्जालमार्फत चौथो संस्करणको विजेताले पाउने धनराशी सार्वजनिक गरेको हो ।

नेपालमा आयोजना हुने टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा विजेता टोलीले पाउन लागेको यो सर्वाधिक धनराशी हो । इपिएलसँगै नेपालमा धनगढी तथा पोखरा प्रिमियर लिग सञ्चालित छन् । पछिल्लोपटक पोखरा प्रिमियर लिगको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पाएका थिए । यसैगरी धनगढीमा सञ्चालन हुने धनगढी प्रिमियर लिगको उपाधि विजेताले ३० लाख र उपविजेताले १२ लाख हात पारेका थिए । इपिएलको उपविजेता टोलीले पनि १५ लाख पाउने इपिएलले जनाएको छ । 

यसअघि तेस्रो संस्करणको इपिएलको विजेताले २५ लाख तथा उपविजेताले १० लाख हात पारेका थिए । प्रतियोगिताको साविक विजेता ललितपुर प्याट्रियर्स तथा उपविजेता भैरहवा ग्ल्याडियटर्स हुन् । इपिएल ९ देखि २३ असोजसम्म त्रिवि क्रिकेट मैदानमा हुँदै छ । इपिएलको मुख्य प्रायोजकका रूपमा बजाज पल्सर रहेको छ । सम्झौताअनुसार बजाजले इपिएललाई यस संस्करणका लागि २ करोड ५० लाख रुपैयाँ प्रदान गर्नेछ ।

 इपिएलमा सहभागी हुने ६ टोली
इपिएलमा विराटनगर वारियर्स, काठमाडौं किंग्स इलाभेन, पोखरा राइनोज, ललितपुर प्याट्रियर्स, चितवन टाइगर्स र भैरहवा ग्ल्याडिएटर्सले प्रतिस्पर्धा गर्नेछन् ।

 भुटानका ब्याट्सम्यान दोर्जी ललितपुरमा 
इपिएल आउन करिब तीन साता मात्रै बाँकी छ । यसक्रममा सहभागी टोलीहरूबीच विदेशी खेलाडी भित्र्याउने होडबाजी चलिरहेको छ । पछिल्लो एक दिनको फरकमा कुनै न कुनै टोलीले विदेशी खेलाडी अनुबन्धित गरेको जानकारी गराइरहेका छन् । सोमबार मात्रै जिम्बाबेका अलराउन्डर सिकन्दर राजासँग विराटनगरले सम्झौता गरेको जनाएको थियो । 

इपिएलको यो संस्करणमा सर्वाधिक चर्चित नाम पाकिस्तानका अलराउन्डर तथा पूर्वकप्तान सहिद अफ्रिदी हुन् । उनी काठमाडौं किंग्स इलाभेनबाट प्रतिस्पर्धा गर्नेछन् । चितवनमा अफगानिस्तानका ओपनर मोहम्मद साहजाद, मलेसियाका विरनदीप सिंह, पाकिस्तानका दानिस अजिज र श्रीलंकाका सिक्कुगे 
प्रसन्ना छन् ।

साविक विजेता ललितपुरले मंगलबार भुटानका युवा ब्याट्सम्यान रञ्जंग मिक्यो दोर्जीलाई अनुबन्धित गरेको सामाजिक गरेको छ । ललितपुरले दोस्रो विदेशी खेलाडीका रूपमा भुटानको सिनियर टोलीका ब्याट्सम्यान रञ्जंगलाई अनुबन्ध गरेको हो । यसअघि ललितपुरले इंग्ल्यान्डका ब्याट्सम्यान एलेक्स ब्लेक भित्र्याएको थियो । 

तीन वर्षअघि काठमाडौंमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुदअन्तर्गत क्रिकेट स्पर्धामा रञ्जंगले नेपालविरुद्ध टी–२० मा डेब्यु गरेका थिए । ललितपुरमा ज्ञानेन्द्र मल्ल, पवन सर्राफ, कुशल भुर्तेल, सोनु तामाङ, सन्दीप जोरा र योगेन्द्रसिंह कार्की छन् । 

 दुर्गेश भैरहवामा अनुबन्ध
युवा बायाँहाते बलर दुर्गेश गुप्ता भैरहवामा आबद्ध भएका छन् । दुर्गेशले धनगढी प्रिमियर लिगको पहिलो संस्करणमा रुपन्देही च्यालेन्जर्सबाट प्रतिस्पर्धा गरेका थिए । भैरहवाले श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान दिनेश चान्डिमललाई अनुबन्धित गरिसकेको छ । श्रीलंकाली टोलीको तीनवटै फम्र्याटको कप्तानी गरिसकेका चान्डिमल टी–२० का अनुभवी खेलाडी मानिन्छन् । 

See More On

सुझावित समाचार