चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ। आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५० लाख तथा उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
यस संस्करणको खेलमा इपिएलले पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको छ। अघिल्लो संस्करणको विजेता टोलीलाई २५ लाख तथा उपविजेतालाई १० लाख प्रदान गरिएको थियो। अघिल्लो संस्करणको फाइनल खेलमा ललितपुरले भैरहवालाई पराजित गर्दै उपाधि जितेको थियो।
प्रतियोगितामा विभिन्न ६ सहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा साबिक विजेता ललितपुर प्याट्रियट्ससँगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन्।