विद्यार्थी, गृहणी, जागिरे, पसलेदेखि ठूलो घरानासम्म सबैको आइपिओमा आकर्षण देखिँदा डिम्याट खाता खोल्ने ३५ लाख पुगेका छन्
काठमाडौंको कलंकीमा फुटपाथमै कपडापसल गर्दै आइरहेका खोटाङका सन्तोष सापकोटाले आइपिओ भर्न थालेको धेरै भएको छैन । पहिल्यैदेखि सबैले सेयर–सेयर भनेको त सुन्थे, तर त्यति चासो दिँदैनथे । आफन्तले आइपिओ भर्न सल्लाह दिएपछि दुई महिनाअघि बैंकमा गएर डिम्याट खाता खोले । त्यसपछि खुलेजति सबै कम्पनीको आइपिओ नछुटाई भर्न थाले । अहिले उनलाई कुन कम्पनीको आइपिओ कहिले आउँदै छ, कुन कम्पनीको म्याद सकियो, सबै थाहा हुन्छ । उनी भन्छन्, ‘अरू किनबेच गर्न त आउँदैन्, तर आइपिओचाहिँ नछुुटाई भर्न थालेको छु । उनलाई अहिलेसम्म एउटै कम्पनीको आइपिओ परेको छैन । तैपनि, आइपिओ परिहाल्यो भने कसरी बिक्री गर्ने भनेर युट्युब हेरेर अलि–अलि सिकिसकेका छन् ।
०००
काठमाडौं मनमैजुु बस्ने सिन्धुपाल्चोकका रोशन घर्तीमगर बसचालक हुन् । चक्रपथमा बस चलाउँदै आइरहेका उनलाई बिहान ५ बजेदेखि साँझ ८ बजेसम्म बसको स्टेरिङ घुुमाउँदैमा फुर्सद हुँदैन । काममा जतिसुकै व्यस्त भए पनि कुनै कम्पनीले आइपिओ जारी गर्यो भने उनी भर्न छुटाउँदैनन् । उनले डिम्याट खाता खोलेर पहिलोपटक नेपाल पूर्वाधार बैंक (निफ्रा) को आइपिओ भरेका हुन् । ‘सबैले निफ्राको सेयर भर्नुपर्छ भनिरहेका थिए, बसका मालिकले पनि डिम्याट खाता खोलेर आइपिओ भर्न सुझाए,’ उनी भन्छन्, ‘सेयरको बारेमा धेरै बुझ्दिनँ, तर आइपिओचाहिँ भर्दै आइरहेको छु ।’ मोबाइलबाट आइपिओ अनलाइन भर्न नजान्ने हुनाले अरूलाई भर्न लगाउँछन् उनी । उनी थप्छन्, ‘सेयरमा ५ हजार रुपैयाँ लगानी गरेर ३० हजार रुपैयाँ पुग्दा निकै खुसी लागेको थियो ।’
०००
काठमाडौंकी सकिना पोखरेलले पनि आइपिओ भर्न थालेको धेरै भएको छैन । स्नातक अध्ययनरत उनलाई अहिलेसम्म आइपिओ परेको छैन । तैपनि, आइपिओ परिहाले पकेट खर्च हुने र आइपिओ नपरे पनि पैसा फिर्ता हुने भएपछि सबै कम्पनीको नछुटाई भर्दै आइरहेकी छिन् । ‘सेयरको बारेमा धेरै नबुुझे पनि साथीभाइ र आफन्तसँग सिकेर आइपिओ भर्न थालेकी हुँ,’ उनी भन्छिन्, ‘सेयर बजार सिक्दै छु, भोलिका दिनमा राम्रोसँग बुझेर दोस्रो बजारमा पनि प्रवेश गर्ने सोच छ ।’
०००
सर्वसाधारण मात्र होइन, नाम चलेका र व्यावसायिक जीवनमा उच्च स्थान हासिल गरेका पनि आइपिओप्रति सकारात्मक धारणा राख्ने गर्छन् । निजी क्षेत्रका व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा आइपिओ हरेक सानादेखि ठूला व्यवसायीका लागि अधिकार र उद्योग–व्यवसायसँग जोडिने माध्यम रहेको बताउँछन् । उनी थप्छन्, ‘यसले उद्योग–व्यवसायलाई जोडेर पुँजी बजारलाई अगाडि बढाउन सकिने माध्यम बन्नु सकारात्मक हो ।’ आइपिओ एउटा मौका रहेको र यसलाई सही सदुपयोग गर्नुपर्ने उनको भनाइ छ । आइपिओको सदुपयोगले मानिसको आर्थिक जीवनस्तरमा पनि टेवा पु¥याउन तथा व्यवसायीदेखि मजदुरसम्मको उद्योगसँगको घनिष्ट सम्बन्ध राख्न भूमिका खेल्ने उनको तर्क छ ।
०००
यी प्रतिनिधि उदाहरण मात्र हुन् । पछिल्लो समय मजदुर, विद्यार्थी, नेता, गृहिणी, जागिरे, पसल सञ्चालकदेखि ठूला व्यावसायिक घरानासम्मले प्राथमिक सेयर बजारमा चासो राख्न थालेका छन् । उनीहरू कुनै पनि कम्पनीले प्राथमिक सेयर (आइपिओ) जारी गर्नेबित्तिकै भर्न छुटाउँदैनन् । चियापसल, होटेल, चौतारो, कार्यालयसम्म कसले कहिले आइपिओ ल्याउँदै छ भनेर खुला छलफल र बहस हुन थालेको छ ।
एक हप्ताअघि सानिमा लाइफ इन्स्योरेन्सको आइपिअोमा ५४ लाख कित्ताका लागि २५ लाखभन्दा बढीले आवेदन गरे, यसलाई आइपिओप्रतिको आकर्षण जनाउने मानक मान्न सकिन्छ
जोरपाटीका हरिकृष्ण श्रेष्ठ भन्छन्, ‘कुनै समय दिनभरि लाइन बसेर नागरिकताको फोटोकपी र पासपोर्ट साइजको फोटो लिएर पनि आइपिओ भरियो । त्यो वेलामा पर्ने सम्भावना पनि धेरै हुन्थ्यो । तर, अहिले मोबाइलबाटै तुरुन्तै भर्न मिल्ने भएपछि पर्न पनि गाह्रो हुन्छ ।’ परिवारका चारजनाको नाममा भर्र्दा पनि धेरैवटा कम्पनीको सेयर नपरेको उनको गुनासो छ ।
सूचना प्रविधिको विकासले अनलाइन प्रणाली लागू भएपछि सेयर बजारमा आकर्षण बढेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपाने बताउँछन् । पछिल्लो समय युट्युब च्यानल, टिकटक, फेसबुकलगायत सामाजिक सञ्जाल र मिडियाहरूमा आउने सेयर बजारको समाचारले सबैलाई आइपिओ भर्नुपर्छ भन्ने सोच विकास गराएको उनको बुझाइ छ । उनी भन्छन्, ‘अहिले पहिलाको जस्तो कागजी प्रक्रिया छैन, बैंकमा गएर लामो फर्म भरेर पनि बुझाउनुपर्दैन, जुनसुकै ठाउँमा बसेर मोबाइलबाटै एक क्लिकमै आइपिओ भर्न सकिन्छ, त्यसैले पनि मान्छेको आइपिओतर्फ आकर्षण देखिएको हुन सक्छ ।’ सामाजिक सञ्जाल र मिडियाले पनि कुन कम्पनीको आइपिओ कहिले आउँदै छ भनेर जानकारी गराउने हुँदा पनि धेरैलाई सहज भएको उनी बताउँछन् ।
‘पछिल्लो समय सानिमा लाइफ इस्योरेन्सको आइपिओमा २५ लाखभन्दा बढीको आवेदन परेको थियो, यही तथ्यांकले धेरैभन्दा धेरै मान्छेमा सेयर बजारप्रति कति चासो छ भन्ने कुरा पुष्टि गर्छ,’ उनी भन्छन्, ‘केही समयअघिसम्म ५ लाखले आइपिओमा आवेदन दिनु पनि ठूलो मानिन्थ्यो, अहिले आवेदन दिनेको संख्या बढेको बढ्यै छ ।’ सानिमा लाइफमा ५४ लाख कित्ताका लागि २५ लाखभन्दा बढीले आवेदन दिनु भनेको आममानिसले सेयर बजार फाइदाजनक छ, लगानी गर्नुपर्छ भनेर बुझ्नु पनि हो ।
बढ्दो जनचासो सुरेश न्यौपाने, प्रवक्ता, सिडिएससी
पछिल्लो समय सानिमा लाइफ इस्योरेन्सको आइपिओमा २५ लाखभन्दा बढीको आवेदन परेको थियो, यही तथ्यांकले धेरैभन्दा धेरै मान्छेमा सेयर बजारप्रति कति चासो छ भन्ने कुरा पुष्टि गर्छ
धितोपत्र बोर्डको पछिल्लो प्रतिवेदनमा उल्लेख भएअनुुसार डिम्याट खाता खोल्नेको संख्या ३५ लाखभन्दा बढी पुगिसकेको छ । यो संख्या गत वर्षको असारसम्म पुुग–नपुुग १५ देखि १७ लाखसम्म थियो । एक वर्षको अवधिमै डिम्याट खाता खोल्नेको संख्या शतप्रतिशत बढेको देखिन्छ । डिम्याट खातासँगै ‘मेरो सेयर’ खाताको संख्यामा पनि उल्लेख्य वृद्धि देखिन्छ । गत असारसम्म मेरो सेयरको खाता खोल्ने ७ लाख रहेकामा अहिले २६ लाख पुुगेको नियामक निकाय धितोपत्र बोर्डको तथ्यांकले देखाउँछ । एक वर्षको अवधिमा मेरो सेयर खोल्नेको संख्या झन्डै चार गुणाले बढेको देखिन्छ ।
पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले पनि सामान्य नागरिकदेखि सम्भ्रान्त वर्गसम्म आइपिओमा आकर्षित भएको बताउँछिन् । धेरै मान्छेले आफ्नो आम्दानीलाई लगानी गर्ने थलोका रूपमा सेयर बजारलाई लिन थालेको उनको बुझाइ छ । उनी थप्छिन्, ‘सेयर बजारमा भविष्य देख्नुलाई सकारात्मक रूपमा लिनुपर्छ ।’ कोभिडको समयमा लगानीका अन्य क्षेत्रहरू बन्द हुँदा धेरैले सेयर बजारमा लगानी गरेर आम्दानी गर्न सकिने बाटो पहिल्याए । कोभिडपछि सेयर बजारमा धेरैको चासो बढेको लगानीकर्ता बताउँछन् । पोखरेल भन्छिन्, ‘पछिल्लो समयमा डिम्याट खाता खोलेर सेयरमा लगानी गर्दा राम्रै प्रतिफल आइरहेको छ, कतिपयको रोजीरोटी सेयर बजारबाटै चल्न थालेको छ, भोलिका दिनमा सेयर बजारमा झन् आकर्षण बढ्ने सम्भावना देख्छु ।’
पाँच अर्ब ६१ करोडको आइपिओ आउँदै
५ अर्ब ६१ करोड रुपैयाँबराबरको ४ करोड ९४ लाख १६ हजार कित्ता सेयर आइपिओ (साधारण सेयर) निष्कासनको पर्खाइमा रहेका छन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक समीक्षाअन्तर्गतका कम्पनीहरूमा ७ वटा हाइड्रोपावर कम्पनीका रहेका छन् । जसमा सयपत्री हाइड्रोपावर, अपर सोलु हाइड्रोपावर, दोर्दी खोला हाइड्रोपावर, अपर हेवा खोला हाइड्रोपावर, मोलुुङ हाइड्रोपावर, रिभर फल्स हाइड्रोपावर, थ्री स्टार हाइड्रोपावर रहेका छन् भने माइक्रो फाइनान्सतर्फ निस्डो समृद्ध लघुुवित्त, जल्पा सामुुदायिक लघुुवित्त, उपकार लघुुवित्त वित्तीय संस्था रहेका छन् । त्यसैगरी, रिलायबल लाइफ इस्योरेन्स रहेको छ । रिलायबल इस्योरेन्सको प्रतिकित्ता १ सय १२ रुपैयाँ प्रिमियम जोडेर १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको ६० लाख कित्ता सेयर रहेको छ ।
धितोपत्र बोर्डको प्रारम्भिक समीक्षाअन्तर्गत ३ अर्ब ३० करोड ९४ लाख २७ हजार ९ सय रुपैयाँबराबरको २ करोड ६३ लाख ७४ हजार २ सय ७९ कित्ताका लागि बोर्डको अनुमतिको प्रतीक्षामा रहेका छन् । हाल यी कम्पनीलाई बोर्डले प्रारम्भिक समीक्षा र अध्ययनमा राखेको छ ।
बोर्डले प्रारम्भिक समीक्षा र अवलोकन गरी कम्पनीप्रति टिप्पणी गर्दै आवश्यक कागजात र सुधार गर्नुपर्ने भन्दै दुुईवटा कम्पनीलाई पत्राचार गरेको छ । ती कम्पनी डिस मिडिया नेटवर्क र आइएमई लाइफ इस्योरेन्स हुन् ।
डिस मिडिया नेटवर्कले चर्चा भएको वर्षौँसम्म पनि आवेदनलाई अगाडि बढाएको छैन । नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरज गिरी बोर्डले प्रारम्भिक समीक्षा गरेर कम्पनीसँग पटक–पटक जवाफ मागे पनि कम्पनीबाट कुनै पनि जवाफ नआएको बताउँछन् । गिरी भन्छन्, ‘डिस मिडिया नेटवर्कलाई पटक–पटक हामीले जवाफसहितको पत्र पठाउन अनुरोध गरे पनि कम्पनीले चासो नदेखाउँदा वर्षौँसम्म पाइपलाइनको पर्खाइमा रहेको हो, जवाफ पठाउनेबित्तिकै पक्रियामा जान सक्छ ।’
डिस मिडिया नेटवर्कको २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँबराबरको २३ लाख ८५ हजार ९ सय २९ कित्ता र आइएमई लाइफ इस्योरेन्स कम्पनीको ६० करोड रुपैयाँको ६० लाख कित्ता गरी जम्मा ८३ करोड ८५ लाख ९२ हजार ९९ सय रुपैयाँबराबरको ८३ लाख ८५ हजार ९ सय २९ कित्ताका लागि बोर्ड जवाफसहित आवश्यक कागजातपछि पक्रिया अगाडि बढाउने तयारीमा रहेको छ ।
त्यस्तै, बोर्डले पुनः अवलोकन गरी अन्तिम जवाफ मागेका ४ वटा हाइड्रोपावर कम्पनी रहेका छन् । विन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट, हिमालयन हाइड्रो, बलेफी हाइड्रोपावर, ग्रिनभेन्जर हाइड्रो कम्पनी गरी जम्मा १ अर्ब ४६ करोड ५५ लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ४६ लाख ५५ हजार ९ सय ४० कित्ता सेयरका लागि कम्पनीहरूको पुनः जवाफपछि पक्रिया अगाडि बढाउने तयारीमा रहेका छन् ।
