सुख्खाग्रस्त क्षेत्र हलेसी आसपासका स्थानीय बासिन्दालाई घरघरमा खानेपानी उपलब्ध गराउनेगरी वि.सं. २०७४ असार २१ गतेबाट बृहत दूधकोशी पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको थियो । वि.सं. २०७६ पुस १७ गतेसम्ममा निर्माणको सम्पूर्ण काम सम्पन्न गर्नेगरी दिवा–महादेव खिम्ती निर्माण कम्पनीले जिम्मा लिएको उक्त आयोजनाको काम अझै सम्पन्न भएको छैन ।
दूधकोशी नदीको पानी पम्पिङमार्फत गाउँमा निकालेर घरघरमा वितरण गर्ने उद्देश्यले सुरु गरिएको खानेपानी आयोजनाको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको देखिएको छ । हलेसी क्षेत्रका करीब तीन हजार सात सय ५६ घरधुरी स्थानीय बासिन्दालाई वितरण गर्ने लक्ष्य राखिएको बृहत खानेपानी आयोजनाको काम तोकिएको समय बितेको दुई वर्ष कट्न लाग्दासमेत ८२ प्रतिशतमात्र सम्पन्न भएको पाइएको छ ।
दूधकोशीको पानीलाई पम्पिङ गरेर हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र वडा नं.–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मेनलाइनको ठेक्काको समयसिमा सकिएको १९ महिना बितिसकेको छ । यस्तै, भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्न लागिएको पानीलाई वडा–वडामा वितरण गर्ने कामको समयसिमा सकिएको कम्तिमा १३ महिना बितिसकेको सम्झौतामा उल्लेख छ ।
मुख्य प्रशारण लाइनबाट वितरण लाइनसम्मको काम करीब ७५ प्रतिशमात्र सम्पन्न भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खोटाङका प्रमुख हिराकाजी महर्जनले जानकारी दिए । हलेसी तुवाचुङ नगरपालिकाको सात वडाका स्थानीय बासिन्दाको खानेपानीको बिकराल समस्या हल गर्न रु ९६ करोडभन्दा बढीको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको हो ।
दूधकोशी नदीको पानी गाउँमा निस्कने आशामा बसेका स्थानीय बासिन्दा ठेकेदार कम्पनीको लापरवाहीका कारण आयोजनाको काममा ढिलासुस्ती भएपछि आजित बनेका छन् । वि.सं. २०७४ असार २१ गतेबाट सुुरु गरिएको बृहत पम्पिङ खानेपानी आयोजना निर्माणको काम अहिले ठप्प रहेको स्थानीय बासिन्दाले बताएका छन् ।
वि.सं. २०७६ पुस १७ गते नै समयसिमा सकिएको मुख्य प्रशारण लाइनको समयसिमा कोभिड–१९ का कारण देखाउँदै गत असार मसान्तसम्म थप गरिएको थियो । गत असार मसान्तसम्मको समयसिमा सकिएपछि पुनः कोभिड–१८ कै कारण देखाएर छ महिनाको दोस्रो समयसिमा थपको प्रकृया अघि बढाइएको छ ।
दिवा–महादेवले खिम्तीले दूधकोशीको पानीलाई महादेवस्थानको भुम्जुडाँडा र काभ्रेडाँडामा निकाल्नु पर्ने सम्झौता छ । दूधकोशी किनारको महादेवबेँसीबाट काभ्रेडाँडा र लुलिमाबाट भुम्जुडाँडामा पानी निकाल्न उक्त कम्पनीले जिम्मा लिएको हो ।
सम्झौता अनुसार दिवा–महादेव खिम्तीले ट्याङ्की निर्माण, पाइपलाइन, विद्युतीकरण, ट्रान्सफर्मर जडान लगायतका काम गर्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्माण कम्पनीले खानेपानी आयोजनामा अपेक्षित र सन्तोषजनक प्रगति देखाउन नसकेको भन्दै नगरप्रमुख इवन राईसहित हलेसी क्षेत्रका नेताको टोलीले वि.सं. २०७६ भदौमा तत्कालीन खानेपानी मन्त्री विना मगरको ध्यानाकर्षण गराएका थिए ।