माधव नेपालले नयाँ पार्टी गठन गरिसकेका छन्। नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टीलाई निर्वाचन आयोगले बुधबार दल दर्ताको प्रमाणपत्र प्रदान गरिसकेको छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणपछि बनेको नेकपालाई सर्वोच्च अदालतले पूर्ववत् अवस्थामा फर्काएपछि एमाले विभाजनको दिशामा उन्मुख भएको थियो। तत्कालीन नेकपा बदरदेखि माधव नेपालको पार्टी दर्तासम्मका घटनाक्रम हेरौँ :
२३ फागुन : नेकपाको नाम अर्को पार्टीसँग बाझिएकाले एमाले–माओवादी एकीकरणपूर्वको अवस्थामा रहेको फैसला
२८ फागुन : अदालतको फैसलाबाट एमाले पूर्वअवस्थामा ब्युँतिए पनि अध्यक्ष केपी ओलीले आफूपक्षीय केन्द्रीय सदस्य बोलाएर केन्द्रीय कमिटी भंग गरी दशौँ महाधिवेशन आयोजक कमिटी गठन, बादलसहित पूर्वमाओवादीका २३ नेता पनि समेटिए
२ चैत : धुम्बाराहीस्थित पार्टी कार्यालयमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका पदाधिकारीबीच वार्ता, तर २८ फागुनको निर्णय खारेज गरी २ जेठ ०७५ सम्मको पार्टीको संरचना ब्युँताउने नेपाल पक्षको प्रस्ताव ओली पक्षबाट अस्वीकार, पूर्वमाओवादीसहितको बैठकको अडान
४ र ५ चैत : काठमाडौंमा सम्पन्न नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाबाट ओलीसँग न आत्मसमर्पण न पार्टी विभाजनको नीति पास, समानान्तर गतिविधिबाट अन्तर्संघर्ष चर्काउँदै ओलीलाई गलाउने रणनीति अख्तियार
८ चैत : वरिष्ठ नेता नेपालसहित स्थायी कमिटीका चार नेता भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग पार्टी हितविरुद्ध काम गरेको अभियोगमा स्पष्टीकरण माग
१२ चैत : नेपालसहित चारजनालाई १२ चैतमा ६ महिनासम्म पार्टी सदस्यताबाट संस्थापन पक्षले निलम्बनको कारबाही
३ वैशाख : मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरे र फ्लोर क्रस गर्ने खनाल–नेपाल समूहका चारमध्ये तीन सांसदलाई मन्त्री बनाए
६ वैशाख : खनाल–नेपाल समूहद्वारा आफूलाई आधिकारिताको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गरायो, निवेदनमा ८८ केन्द्रीय सदस्यको हस्ताक्षर
८ र ९ वैशाख : ओली र नेपालबीच होटेल मेरियटमा संवाद, दुवै पक्षका आ–आफ्ना अडानका कारण निष्कर्षविहीन
१० वैशाख : आफूमाथि भएका सबै कारबाही बदर गर्नुका साथै केन्द्रीय कमिटीको बैठक बोलाउन आदेश हुनुपर्ने मागसहित नेपालसहितका नेताहरू सर्वोच्च अदालतमा
२२ वैशाख : राष्ट्रिय सभाको उपनिर्वाचनबाट विपक्षीहरूको औपचारिक गठबन्धन सुरु, बागमती प्रदेशमा विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा उम्मेदवार
२३ वैशाख : एमाले विवादमा राष्ट्रपतिको सक्रियता, ओली र नेपालस“ग अलग–अलग भेटवार्ता
२५ वैशाख : संसदबाट बाहिरिनु अनिवार्य भएको निष्कर्षसहित खनाल–नेपाल समूहका २२ सांसदको राजीनामा दिने निर्णय
२६ वैशाख : पार्टी एकताका लागि वरिष्ठ नेता नेपालले २६ वैशाखमा प्रधानमन्त्री ओलीलाई ६ बुँदे पत्र बुझाए, पत्रमा कारबाही फिर्ता हुनुपर्ने, पार्टीलाई २ जेठअघिको संरचनामा फर्काउनुपर्ने, प्रतिनिधिसभा विघटनमा कमजोरी स्विकार्नुपर्ने माग
२७ वैशाख : २७ वैशाखमा संसद्मा विश्वासको मत लिने तत्कालीन प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा मतदान गर्न नेपाल पक्षका २८ सांसद अनुपस्थित
३० वैशाख : क्याप्टेन रामेश्वर थापाको निवासमा दुवै पक्षबाट पाँच–पाँचसहित दश सदस्यीय कार्यदल गठनको सहमति
२ जेठ : ओली–नेपालबीच सिंहदरबारमा भएको छलफलबाट संस्थापनबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेको कार्यदल गठन
४ जेठ : कार्यदलको पहिलो बैठकले दुवै पक्षलाई अन्तर्विरोध बढाउने गतिविधि नगर्न आग्रह गर्ने निर्णय
६ जेठ : राष्ट्रिय सभा निर्वाचनमा वरिष्ठ नेता नेपाल पक्षसहित तत्कालीन विपक्षी गठबन्धनको सहयोगमा डा. खिमलाल देवकोटाद्वारा एमाले उम्मेदवार रामबहादुर थापा बादल पराजित, कार्यदल अघोषित रूपमै भंग
७ जेठ : शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २६ जना सांसदको हस्ताक्षर राष्ट्रपतिकहाँ बुझाइयो
८ जेठ : प्रधानमन्त्री ओलीले दोस्रोपटक संसद् विघटन गरे, नेपाल समूहको विरोध
१० जेठ : देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा परेको रिटमा नेपाल समूहका २३ सांसदको हस्ताक्षर
११ जेठ : संसद् पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउने रिटमा हस्ताक्षर गर्ने नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहित ११ सांसदलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही
१२ जेठ : खनाल–नेपाल समूहका स्थायी कमिटीका १५ सदस्यको संयुक्त विज्ञप्ति, ओलीका स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यहरूका विरुद्ध लोकतन्त्रवादी शक्तिहरूको एकताबद्ध संघर्ष र सहकार्य
२३ जेठ : मूलतः पार्टीलाई २ जेठ ०७५ अघिको अवस्थामा फर्काइने तथा कारबाही नहुने ६ बुँदे प्रतिबद्धतासहित एकताका लागि ओलीको आह्वान
२४ जेठ : तर, नेपाल पक्षले आह्वान आंशिक सकारात्मक भए पनि अधुरो र अपूरो रहेको भन्दै अस्वीकार गरेपछि एकताको कोसिस झन् लम्बियो
२७ जेठ : मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रदेश सांसद प्रकाश ज्वालासहित चार सांसद सर्वोच्चबाट पुनर्बहाली, एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीको वैधतामाथि प्रश्न
१५ असार : सहमतिप्रति लचक बन्दै संस्थापन पक्षद्वारा महाधिवेशन आयोजक कमिटी भंग गरी वरिष्ठ नेता, पदाधिकारीसहितको दुई सय ४१ सदस्यीय केन्द्रीय कमिटी ब्युँताउने निर्णय
२३ असार : दोस्रो तहका नेताहरूको सक्रियतामा वार्ता भयो । मूलतः पार्टी निर्णयमा अध्यक्षसरहको हस्ताक्षर चल्ने कुरालाई वैधानिक रूपमा स्विकार्नुपर्ने नेपालको चाहनालाई ओलीले सम्बोधन नगर्दा वार्ता असफल
२७ असार : एमालेका कार्यदल सदस्यबीच १०बु“दे एकता सहमति प्रस्ताव तयार
३१ असार : नेपाल पक्षको अनेरास्ववियुद्वारा तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्स गठन
३ साउन : नेपाल पक्षका २२ सांसदले संसद् जोगाउन भन्दै देउवालाई विश्वासको मत दिए, तीमध्ये नेपाल खेमाका १४ र ओली खेमाका आठ सांसद, नेपाल खेमाकै ११ सांसद अनुपस्थित
४ साउन : देउवालाई विश्वासको मत दिने नेपालसहित २२ जनालाई संस्थापनको स्पष्टीकरणपत्र, तर एकताको प्रक्रिया चलेकाले कारबाहीको तयारी स्थगन
६ साउन : दशौँ बैठकबाट संस्थापन पक्षले लियो एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय, त्यसका लागि अध्यक्ष ओलीलाई जिम्मेवारी, सुवास नेम्वाङ र विष्णु पौडेलले ओलीका तर्फबाट सम्मानजनक रूपमा एकता प्रक्रिया टुंग्याउन हस्ताक्षरसहितको अर्को अध्यक्ष स्वीकार्न तयार रहेको सन्देश नेपाललाई निवासमै गएर सुनाए
७ साउन : पार्टीविरोधी गतिविधि गर्नेलाई एम्नेस्टी इज ग्यारेन्टेड भन्दै आममाफी दिने ओलीको घोषणा, नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको भनाइ, संस्थापन पक्षको केन्द्रीय कमिटी बैठकद्वारा कार्यदलले बनाएको १०बुँदे सहमति प्रस्ताव अनुमोदन
९ साउन : पुष्पलाल दिवसमा भिन्दाभिन्दै कार्यक्रम, नेपाल गद्दार रहेको ओलीको आरोप
११ साउन : स्थायी कमिटी सदस्यहरूको छलफल, नेपाल पक्ष सकारात्मक रहेकाले एकता प्रक्रियालाई एक साताभित्र टुंगोमा पुर्याउने निष्कर्ष
१८ साउन : नेपाल पक्षको स्थायी कमिटी बैठक, १०बुँदे र दुई अध्यक्षको व्यवस्था गरेर पार्टी एकताका लागि पहल गर्ने निर्णय
२१ साउन : माधव पक्षको केन्द्रीय कमिटी बैठक, एकताका लागि अन्तिम प्रयास गर्ने निर्णय
२५ साउन : एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक, विधान संशोधन प्रस्ताव पारित
३२ साउन : एमाले अध्यक्ष ओलीद्वारा एमाले विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याउन लागिएको भन्दै विरोध गर्ने विज्ञप्ति जारी
१ भदौ : एमालेको स्थायी कमिटी बैठक र संसदीय दलमा अध्यादेशको प्रतिवाद गर्ने निर्णय
२ भदौ : आफूनिकट नेताहरूसँगको परामर्शपछि नेपालद्वारा आफ्नै नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ता
४ भदौ : आयोगले नाम सच्चाउन गरेको आग्रहअनुसार नेकपा एकीकृत समाजवादी बनाउन निवेदन
९ भदौ : निर्वाचन आयोगद्वारा सनाखत, माधव नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई दलको प्रमाणपत्र