‘प्रधानमन्त्रीज्यू, मेरो जन्म सुनसरी जिल्ला धरान नयाँबजारमा भएको हो। नेपाली भएर पनि नागरिकता नहुँदा शरणार्थीजस्तो भएर बाँच्नुपरेको छ’
उमेरले ७६ वर्ष पुगे गोपाल राई। तीन वर्ष भयो एक वृद्धाश्रमको शरणमा जीवन काटिरहेको। नाम, थर, घर र बोलीले उनी नेपाली हुन् भन्नेमा त संकोच छैन। तर, उनी नेपाली नागरिक नै हुन भनेरै ठोकुवा गर्ने कानुनी प्रमाण नागरिकताचाहिँ छैन। हाल १६ वर्षमै राज्यले प्रदान गर्ने नागरिकता उमेरले ७६ वर्ष पुगेका गोपालले अझै पाउन सकेका छैनन्।
उनको उमेरले सात वर्षअघि नै सरकारले वृद्धहरूका लागि दिने भत्ता पाउने खुड्किलो टेकिसकेको छ। नागरिकता नपाएपछि उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई चिठी लेखे। नागरिकता नहुँदा वृद्धभत्ताबाट समेत वञ्चित रहेको गुनासो पोख्दै उनले चिठी लेखेका हुन्। उक्त चिठी उनका सहयोगीले आइतबार बिहान प्रधानमन्त्री देउवालाई बुझाएका छन्। उनले नागरिकता नहुँदा आफूजस्तै धेरै वृद्धवृद्धाहरू राज्यले दिने सेवासुविधाबाट वञ्चित भएको भन्दै त्यसतर्फ ध्यान दिन माग गरेका छन्। ‘मजस्ता धेरै नेपाली नागरिक नागरिकताबाट वञ्चित छन्, त्यसैले तपाईंको सरकारबाट सम्पूर्ण नेपालीले नागरिकता पाऊन् भन्ने आशा राखेको छु,’ उनले चिठीमा लेखेका छन्।
लामो समय भारतमा बेपत्ता भएर कसैको सहारामा जन्मभूमि नेपाल टेकेका उनी नेपाली हुन् भनेर पुष्टि गर्ने कानुनी आधार छैन। न त अहिले उनको सम्पर्कमा उनका परिवार नै छन्। तर, उनको नाम थर, घर, जन्म, राष्ट्रियता पहिचान गर्ने प्रमाण नागरिकता छैन। ‘अझै कति बाँच्ने हुँ थाहा छैन, तर अबचाहिँ कानुनी रूपमा नेपाली भएर बाँच्न मन छ,’ उनले सुनाए।
वृद्धभत्ताले जीवन सहज बनाउने धोको
नेपालमै जन्मिएका नागरिकले नागरिकता पाउनु सामान्य कुरा हो। तर, नेपालमै जन्म भएर पनि नागरिकता नपाउनु दुःखको कुरा हो। अहिले गोपाललाई आफू नेपाली हुन नपाएको मात्रै चिन्ता छैन। नागरिकता नहुँदा उनी राज्यले दिने सेवा–सुविधाबाट पनि वञ्चित छन्। बुढेसकालमा सरकारले दिने झिनो भत्ताले पनि सहज जीवन बन्ला भन्ने आशा गोपालको मनमा छ। 
३० वर्ष भारतमै बरालिए गोपाल
गोपाल आफ्नो बाल्यकाल सम्झन्छन्। उनको नौजनाको परिवार थियो। उनले १२ वर्षको उमेरमा बुबाआमा गुमाए। अभिभावक गुमाएपछि दाइ र दिदीहरूले पनि हेप्न थाले। भोको पेट सहजै भर्ने आसमा उनी छिमेकीको सहारामा भारतको आसामतिर लागे। त्यहाँ गएपछि उनी उतै हराए, बीचमा नेपाल आउजाउ गरेनन्। ओहोर–दोहोर नगरेपछि आफन्तहरू पनि टाढिए। आफूले पनि आफ्ना छरछिमेक र आफन्त भुल्दै गए। आसाममै भुलेका गोपालले समयक्रमसँगै नेपाल फर्कन पनि भुले।
त्यहाँ गएको करिब ३० वर्षपछि ०४५ सालतिर उनलाई नेपाल फर्कने भूत चढ्यो। सोध्दै–सोध्दै नेपाल आए उनी। यहाँ आउँदा उनले आफ्नो जन्मठाउँसम्म ठम्याउन सकेनन्। दाइभाइ, दिदीबहिनी र छिमेकी कहाँ छन् अत्तोपत्तो पाएनन्। जेनतेन आफू जन्मेको धरान सम्झिएका उनले आफन्त चिन्न नसकेपछि सोध्दै काठमाडौं छिरे। करिब सात वर्ष भारी बोके। होटेलमा भाँडा माझे। त्यति गर्दा पनि उनको जीवन एक्लो बन्यो। यहाँसम्म आउँदा उनले न त जीवन उकास्ने आफन्त भेटे न त कमाइ।
आफन्त नचिन्दा सडक हुँदै वृद्धाश्रमसम्म
काठमाडौंमा काम गर्न र गरिखान नसक्ने भएपछि उनलाई फेरि जन्मगाउँको खोजी गर्न मन लाग्यो। तीन वर्षअघि उनी बाटोमा भेटिने मानिसलाई सोध्दै सुनसरी पुगे। तर, आफन्त पत्ता लगाउनै सकेनन्। आफ्नो मान्छे पत्ता नलागेपछि उनी फेरि काठमाडौं फर्किए। यता फर्किएपछि उनको जीवन सडक पेटीमा पुग्यो। गरिखान सक्ने उमेर नभएपछि उनी पेटीमै हात थापेर बसे।
त्यही क्रममा नवजीवन परोपकार समाज नामक एक संस्थाले उनको उद्धार गरेको थियो। तीन वर्षदेखि उनी आफूजस्तै धेरै असहाय वृद्धवृद्धा रहेको आश्रममा रहेका छन्। आश्रममा बस्ने अन्य व्यक्तिले वृद्धभत्ता बुझेको देख्दा उनलाई पनि त्यसको लोभ लाग्छ। तर, उनले वृद्धभत्ता बुझ्नलाई नागरिकताधरी पाएका छैनन्।