इरानमा कोरोनाको पाँचौँ लहर, स्थिति भयावह

मंगलबार, १ भदौ, २०७८
डिजिटल संस्करण

इरानमा कोरोना भाइरसको पाँचौँ लहर फैलिरहेको छ । जसका कारण इरानको मुख्य सहरहरूका सबै ठूला अस्पताल कोरोना संक्रमितले भरिएका छन् । ती अस्पतालमा अक्सिजन र बेड अभाव भएपछि संक्रमितहरूको अस्पतालको पार्किङस्थलमै उपचार भइरहेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

यहाँका नाम चलेका अस्पतालले समेत उपचारका लागि पर्याप्त स्वास्थ्य सामग्री नभएको घोषणा गरिसकेका छन् । इरानमा पछिल्लो एक साताभित्र दैनिक औसत ४० हजारजना संक्रमित भएका छन् । साताभर हरेक दिनजसो ६ सय संक्रमितको निधन भएको छ । कोरोना भाइरस सुरु भएयता दैनिक निधन हुनेहरूको यो संख्या सर्वाधिक हो । इरानमा आठ करोड ३० लाख जनसंख्या छ । 

अवस्था नियन्त्रणमा लिन सरकारले एक साताको लकडाउन घोषणा गरेको छ । इरानमा कोरोनाको भयावह अवस्था आउनुको पछाडि दुई कारण मानिएको छ । पहिलो खोप कार्यक्रमले तीव्रता नपाउनु र दोस्रो डेल्टा भेरियन्ट अनियन्त्रित रूपमा फैलनु । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार इरानमा अहिलेसम्म ४४ लाख ६७ हजार १५ जना संक्रमित भएका छन् । जसमध्ये ३७ लाख ५७ हजार एक सय ५७ जना निको भएका छन् । कोरोनाले हालसम्म इरानमा ९८ हजार चार सय ८३ जनाको ज्यान गइसकेको छ । पछिल्लो २४ घन्टामा इरानमा ४१ हजार एक सय ९४ जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिका ६ सय ५५ जनाले ज्यान गुमाएका छन् ।

अहिलेसम्म चार प्रतिशत नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन् । इरानले ३१ वटै प्रान्तलाई रेड जोनमा राखेको छ ।

कोरोना भाइरस टास्क फोर्स तेहरानका प्रमुख नादिर तावकोलीले पाँचौँ लहरमा फैलिएको कोरोना भाइरसले इरानमा कस्तो आतंक मच्चाउने हो अनुमान नै लगाउन नसक्ने अवस्था रहेको बताए । ‘हामीलाई थाहा छैन इरानले आउँदो दिनमा कसरी सामना गर्छ, सुरुवातमै यसले सोचेभन्दा बढी नोक्सान गरेको छ,’ नादिरले भने, ‘तेहरानका सबै अस्पताल संक्रमितले भरिएका छन्, इमर्जेन्सी वार्डमा उपचार गर्ने चिकित्सक अभाव भइसकेको छ ।’ 

इरानले गत फेब्रुअरीमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । तर, यो अभियान निकै सुस्त छ । अमेरिकाले इरानमाथिको प्रतिबन्ध लगाएका कारण पनि कोरोना नियन्त्रणमा समस्या झेलिरहेको छ ।

कोरोनाविरुद्ध लड्ने प्रमुख अस्त्र भ्याक्सिन नै हो, तर प्रतिबन्धका कारण इरानमा विदेशबाट भ्याक्सिन आउन सकेको छैन । ‘अन्य मुलुकबाट भ्याक्सिन आयात गर्न सक्ने अवस्था छैन,’ नादिमले भने, ‘भ्याक्सिन पर्याप्त मात्रामा उपलब्ध भए कोरोना नियन्त्रणमा ल्याउन सकिन्छ ।’ इरानमा अहिलेसम्म जम्मा चार प्रतिशत नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन् । इरान सरकारले सबै ३१ प्रान्तलाई रेड जोनमा राखेको छ । 

सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि खाद्यान्न, औषधि तथा अन्य अति आवश्यक सामग्री निर्यातमाथि प्रतिबन्ध घोषणा गरेका थिए । अहिले अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि ट्रम्प प्रशासनकै निर्णयलाई निरन्तरता दिइरहेका छन् । सन् २०१५ मा इरानले अमेरिकासँग आणविक हातहतियारसम्बन्धी सम्झौता गर्न नमानेपछि अमेरिका रुष्ट बनेको हो । 

जापानमा १७ महिनामा २० हजार संक्रमित
खोप अभियान ढिलो गरेका कारण जापानमा पनि कोरोना भाइरस संक्रमण अनियन्त्रितजस्तै भएको छ । शनिबार मात्रै जापानमा २० हजार एक सय ५१ जना संक्रमित थपिएका थिए । पछिल्लो १७ महिनाको तथ्यांकअनुसार यो संक्रमित संख्या अहिलेसम्मकै धेरै हो । जापानमा प्रत्येक दिन औसत पाँच हजार एक सय संक्रमित भइरहेका छन् । जापान सरकारले नयाँ संक्रमितमा ९० प्रतिशत डेल्टा भेरियन्ट देखिएको जनाएको छ । यसै साता मेक्सिकोबाट फर्किएकी एक जापानिज महिलामा नयाँ भेरियन्ट देखिएको छ । 

See More On

सुझावित समाचार