समान सुविधा माग गर्दै आन्दोलित भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आन्दोलनमा खुलेर समर्थन जनाउन प्रदेश १ का सांसदहरूले सरकार र आमनेपालीसँग आग्रह गरेका छन्।
सोमबार प्रदेश सभाको बैठकमा विशेष समय लिएर बोल्दै संघीय लोकतान्त्रिक मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेले बेलायती भूपू गोर्खाहरूको आन्दोलन कुनै जाति र वर्गको नभएर सिंगो नेपाल राष्ट्रको स्वाधीनतासँग जोडिएको बताइन्।
सांसद तुम्बाहाम्फेले ब्रिटिस भूपू गोर्खाहरूको आन्दाेलनमा सबै चुप लागेर बस्नु भनेको उनीहरूप्रति विभेदकारी नीति लिएको बुझिने बताइन्। ‘त्यो वेला साम्राज्यवादीहरूलाई खुसी पार्न नेपाली युवाहरूलाई युद्ध गर्न पठाउने नेपाल सरकार अहिले किन कालो चस्मा लगाएर अझै कानमा तेल हालेर बसेको छ ?’ उनले प्रश्न गरिन्।
सांसदहरूले राणाशासनदेखि नै साम्राज्यवादी देशहरूमा पठाइएका नेपाली युवाले वीर गोर्खाली भनेर विश्वमा नेपाललाई चिनाएको बताए। त्यसनेला हजारौँ नेपाली युवाहरूले आफनो ज्यान गुमाएका र बाँचेकाहरूले ल्याएको धनले देशको अर्थतन्त्रमा योगदान गरेको कुरा राज्यले कुनै हातलमा बिर्सन नहुनेमा सांसदहरूले जोड दिएका छन्।