नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक शनिबार पनि निरन्तर हुने भएको छ। साउन २८ बाट सुरु भएको बैठक शनिबार २ बजेका लागि तय भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक सभापति शेरबहादुर देउवाको निजीनिवास, बूढानीलकण्ठमा बस्दै आएको हो।
बैठक क्रियाशील सदस्यता सम्बन्धमा देखिएको विवाद र १४औँ महाधिवेशनको विषयमा केन्द्रित रहेको छ। शुक्रबारको बैठकमा केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, बलबहादुर केसी, महेश आचार्य, फरमुल्लाह मंसुर, उमाकान्त चौधरी, अर्जुनप्रसाद जोशी, डा. शेखर कोइराला, जीवनबहादुर शाही, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, रत्न शेरचन, मीनबहादुर विश्वकर्मा, बद्री पाण्डे, श्यामकुमार घिमिरे, रामकृष्ण यादव, बहादुर सिंह (लामा) तामाङ, जंगीलाल राय, रामजनम चौधरी, हेमराज तातेडले आफ्नो धारणा राखेका थिए।
यसरी धारणा राख्नेहरूमा आमन्त्रित केन्द्रीय सदस्यहरू हसन अन्सारी, किरणराज शर्मा पौडेल, कृष्णकिशोर घिमिरे र जनकराज कलौनीसमेत रहेका थिए। बैठकमा अहिले प्रस्तुत भएका प्रस्तावमाथि छलफल सकिएपछि महाधिवेशन कार्यतालिका सार्वजनिक गर्नेबारे छलफल हुने कांग्रेसले जनाएको छ।